‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू !’

बलेवा । दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन् । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुई दुहुना भैँसी उनका आम्दानीका स्रोत हुन् ।
दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उनको गाउँका किसान उत्साहित छन् । दक्षिण बागलुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू !’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो ।
उनीजस्तै धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गत असारको १ गते यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरबाट पातीचौरसम्म पुग्यो । असार १ गतेको बाढीपहिराका कारण सडक बन्द भएपछि अहिले यहाँका किसानले गाउँमै दूध बिक्री गर्छन् ।
“यहाँबाट एक क्यान दूध पातीचौरसम्म पु¥याइयो, असारयता बन्द छ”, लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्षसमेत रहनुभएका शर्माले भने, “अब हाम्रो योजना पोखरा दूध पठाउने हो ।” एक क्यान दूधमा ४० लिटरमात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दूधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको छ । पोखरामा दूध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको भन्दै शर्माले सिधा पोखरा पठाउँदा दूधको मूल्य थप पाइने आशा व्यक्त गरे ।
जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दुग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दूध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दूध बजारीकरणमा सहज भएको शर्माले बताए । कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् ।
“हामी गुजारामुखी व्यवसायमा थियौँ, अहिले दूधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “यो गाउँपालिकाका लागि खुशीको कुरा हो । हाम्रो कार्यकालको महत्वपूर्ण उपलब्धि पनि ।” स्थानीय बजारमा समेत दूधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुईवर्ष यतामात्रै भएको हो । सडकलगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दूध स्थानीय बजारमा बिक्री भइरहेको छ ।
किसानलाई गाउँपालिकाले सहयोग गरेको छ । दूधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताए । “हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे”, उनले भने, “रोजगारीसमेत सिर्जना हुने गरी काम गरेका समूहलाई सघाइरहेका छौँ ।” किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ । रासस









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया