माधव नेपालले भने- आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुन्छन्

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने बताएका छन् । मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको बताए ।
उनले विभिन्न प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको भन्दै कर्णाली प्रदेशमा एमाले उठ्नै नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रदेश दुईमा एमालेभन्दा धेरै अगाडि रहेका छौँ । कर्णाली प्रदेशमा हामीले टक्कर दिएर एमालेको हालत खतम छ । एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको छ । त्यसैले हामीसँग टक्कर लिन खोज्नेहरु समाप्त हुन्छन् ।’
यस्तै अध्यक्ष नेपालले प्रतिनिधि सभाको निर्वाचन आफ्नै समयमा हुने बताए । नेपालले निर्वाचन आफ्नै समयमा हुने भन्दै चाँडै चुनाव हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । उनले पाँच दलीय गठबन्धन कसैले भत्काउन नसक्ने बताए ।
प्रतिक्रिया