बुधबार, मंसिर १९, २०८१

मुख्यमन्त्री पाण्डेले गरे भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन

मेरोन्यूज २०७८ कार्तिक १९ गते १७:२८

काठमाडौँ । बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को अवलोकन गरेका छन् । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ ।

Advertisement

नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ ।

मुख्यमन्त्री पाण्डेलाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देबेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा उनीहरुले मुख्यमन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन ‘ट्रायलको कोटा ’वृद्धि गरिदिन, लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्वर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आवश्वासन दिएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य रमा आले मगरको समेत उपस्थिति रहेको थियो ।

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक संकट परेको जनाइएको छ । “सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको छ । सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक संकट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत सुविधा पाएका छैनौँ । ” एकेडेमीका सञ्चालक रामनारायण घिमिरे भने ।

प्रतिक्रिया