बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

म्याग्दी । बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ ।
पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन । फरक–फरक ठाउँमा अस्थायी संरचना बनाएर सघन उपचार, डायलायसिस, कोभिड र बालरोग उपचार कक्ष थपेर ६४ शय्याको सेवा सञ्चालन गरेको छ ।
अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारका भएका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले जानकारी दिए । “नौ चिकित्सक र सात स्टाफ नर्सले छ वार्ड चलाउनुपरेको छ”, उनले भने, “सबै दरबन्दीको पदपूर्ति नहुँदा कार्यरत चिकित्सक र नर्सलाई कार्यबोझ परेको छ ।”
अस्पतालमा हाल स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा सघन उपचार कक्ष ९आइसीयू० सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
“आइसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक ९एनएसथीसियोलोजिस्ट० आवश्यक पर्छ”, उनले भने, “अस्पतालमा हाल मौजुदामध्य थप छ जना चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ ।” सर्वसाधारणले समयमा सेवा नपाउने, भएका जनशक्तिलाई कामको बोझ हुने र जिल्ला बाहिर जानुपर्ने समस्या भएको स्थानीयवासी बालकृष्ण सुवेदीले बताए । गत आर्थिक वर्ष २०७७÷७८ मा ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलायसिस, १२३ वटा शल्यक्रियामार्फत गरिनेसहित ७३४ जनाले प्रसूति र २०३ जना कोरोना संक्रमितको उपचार भएको छ ।
निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका रबि सिंहसमेत संलग्न महादेव–खिम्ती–गल्वा–रफिना जेभीले विसं २०७३ मङ्सिरमा १८ करोड ८४ लाखमा ठेक्का लिएको बेनी अस्पतालको भवन निर्माणकार्य एक वर्षयता अलपत्र छ ।
विसं २०७६ मङ्सिरमा सकिनुपर्ने चारतले तीनवटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रभाकरलाल कर्णले बताए । “विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेका छौँ”, उनले भने, “जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौँ । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौँ ।”
नयाँ भवन बनाउन पुरानो भत्काइएपछि बहिरंग कक्ष अस्थायी भवन, आकस्मिक र अन्तरंग कक्ष प्रशासनिक भवनबाट सञ्चालन भएको छ । स्वास्थ्य कार्यालयको भवनमा प्रशासन, व्यवस्थापन समितिको कार्यालय, डायलायसिस र आइसीयू कक्ष राखिएको अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर दरबन्दीअनुसारका जनशक्तिको व्यवस्थापनमा माथिल्लो निकायले वास्ता नगरेको व्यवस्थापन समितिका अध्यक्ष कटुवालले गुनासो गरे ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया