मंगलबार, फागुन १२, २०८२

राजनीतिक समन्वय समिति आवश्यक छैन : नेता सिंह

मेरोन्यूज २०७८ कार्तिक २४ गते ९:०६

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन् । सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंह बताए। गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ । यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो । नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने। उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए । ‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन । सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’

‘न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुख पाईरहेका छन् ।’ उनले भने ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’ साथै नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको समेत बताए । उनले देशमा विविको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि बर्तमान सरकार बनेकाले संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए ।

‘कुनै व्यक्ति विशेष र पार्टी विशेषको रुचिमा अलिइलेक्शन हुँदैन । संविधानको व्यवस्था अनुसार निर्वाचन हुन्छ ।’ नेता सिंहको भनाई थियो ।
उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखेका थिए । काँग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा काँग्रेसले गठबन्धन नगरि एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ । नेता सिंहले सत्तारुढ दलहरुले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्रको कुनै काम नभएको समेत बताए । उनले उक्त संयन्त्र सरकारलाई काम गर्न नदिने र नियन्त्रण गर्ने उदेश्यले स्थापना भएको समेत उल्लेख गरेका छन् ।

साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान काँग्रेसले पछ्याउनु पर्ने बताए । वि।सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।

प्रतिक्रिया