मंगलबार, फागुन १२, २०८२

अग्निपीडित परिवारलाई ऊर्जामन्त्री भुसालले गरिन् आर्थिक सहयोग

मेरोन्यूज २०७८ कार्तिक २४ गते २०:०२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।

पशुपतिस्थित क्रियापुत्री भवन पुगेर बुधबार मन्त्री भुसालले नेपाल सरकारका तर्फबाट आगलागीबाट मृत्यु भएका परिवारका सदस्य अनार ताम्राकारलाई सहायतास्वरुप रु सात लाख ४५ हजार प्रदान गरेकी हुन् ।

ललितपुरको पाटनस्थित चक्रबहिलको एक घरमा गत शुक्रबार साँझ घरको तेस्रो तल्लामा श्री ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा निरोजका ७१ वर्षीय बुबा लक्ष्मीकृष्ण ताम्राकार, ४० वर्षीया बहिनी अञ्जना ताम्रकार, ३४ वर्षीया श्रीमती रञ्जना ताम्रकार र ११ वर्षीय छोरा निर्जल ताम्राकारको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा परि बहिनी सिर्जना ताम्राकारको दुवै खुट्टा र ढाँड भाँच्चिएको छ । घरको तेस्रो र चोथो तल्ला पूर्णरुपमा क्षति भएको थियो ।
सो अवसरमा मन्त्री भुसालले मृतक परिवारका बालबालिकालाई पढाउन छात्रवृत्ति दिलाउन महानगरपालिकासमक्ष सिफारिस गर्ने पनि बताइन् ।

सोही अवसरमा दक्षिणकाली गण सातदोबाटोको सशस्त्र बलको तर्फबाट ३० हजार ५०० सहित चामल छ बोरा, कम्मल तीन थान, स्लिपिङ्ग ब्याग दुई थान र ब्लाङ्केट पाँच थान बलका प्रमुख एवं प्रहरी उपरीक्षक किरण ढुङ्गानाले हस्तान्तरण गरे ।

पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा ग्यास विस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, सङ्घसंस्थालाई यथासक्य सहयोगको लागि सार्वजनिकरुपमा आह्वान गर्दै आएको छ । त्यसैगरी, ताम्राकार समाजले एक लाख रुपैयाँको राहतकोष पनि खडा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया