देउवा समूहमा बढ्दै छन् महामन्त्रीका आकांक्षी
यी हुन् देउवा समूहका महामन्त्रीका आकांक्षीहरू

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार छान्न सकस देखिएको छ । एक कार्यकाल फेरि आफैँ सभापति हुने दाउमा देउवाले तयारी थालेका छन् । तर, उनलाई १३ औँ महाधिवेशन जस्तो सजिलो योपटक देखिएको छैन ।
देउवालाई खम्बा बनेर साथ दिएका विमलेन्द्र निधि योपटक आफै सभापति उठ्ने अन्तिम तयारीमा छन् । निधिले गत भदाैँ १४ गते नै बानेश्वरमा सम्पर्क कार्यालय खोलिसकेका छन् ।
सभापति देउवाले आफ्नो समूहका नेताहरूको बैठक गत बिहीबार बालुटारमा डाके । उक्त बैठकमा निधिलाई पटक-पटक यो अन्तिम पटक हो, आफूलाई सघाउन भन्दा निधिले अघिल्लो पटक (१३ औँ महाधिवेशन) पनि अर्को पटक म तपाईलाई सभापति बनाउछु भन्नु भएको थियो हैन ? भन्दै प्रश्न गरेका थिए ।
तर, देउवाले आफू सभापति नछोड्ने अडानमै रहेका छन् । ‘निधिले आफू सभापति उठ्छु भन्दा देउवाले त्यसो भए शुभकामना भनेर निधिलाई बिदाई गरेका थिए,’ सोही बैठकमा सहभागी देउवा निकटका एक नेताले मेरो न्युजलाई बताए ।
देउवालाई निधिको साथबिना महाधिवेशन जित्न निकै मुस्किल देखिएको छ । निधिले प्रदेश २ बाट भोट तान्ने हुँदा त्यसले देउवालाई थप चुनौती थपिएको हो । देउवाले १३ औँ महाधिवेशनमा निधि र संथापनइतर समूहका कृष्ण प्रसाद सिटौलाको साथले सभापति जितेका थिए । तर, अहिले सिटौलासमेत सभापति उठ्ने तयारीमा रहेको बताउँदै आएका छन् ।
अर्को देउवा समूहमा पछिल्लो समय हेर्दा महामन्त्रीको आकांक्षी बढ्दै गएका छन् । उनको समूहमा पदाधिकारीका आकांक्षी बढी छन् । आफ्नै समूहका आकांक्षीहरूलाई व्यवस्थापन गरी टिमलाई चुस्त राख्न नसके देउवालाई महाधिवेशनबाट सभापति चुनिन थप कठिन हुनेछ ।
कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दै छ । यद्यपि, निर्वाचन समितिले अझै महाधिवेशनको मिति सार्न प्रस्ताव गरेको चर्चा छ । यसबारे कांग्रेसको आज बस्न लागेको केन्द्रीय समितिले थप निर्णय लिन सक्ने बताइएको छ ।
कांग्रेसले रोकिएका १३ जिल्लाको वडा अधिवेशन शनिबार (हिजो)देखि जारी छ । कांग्रेस निवार्चन समितिले रोकिएका १३ जिल्लामा ७० प्रतिशत वडा अधिवेशन सकिएको जनाएको छ । निवार्चन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भोलिसम्ममा वडा अधिवेशन सक्ने तयारी रहेको जानकारी दिए ।
यी हुन देउवा समूहका महामन्त्रीका आकांक्षी
कांग्रेसमा १४ औँ महाधिवेशनमा सबैभन्दा रोचक प्रतिस्पर्धा महामन्त्री पदमा हुने छ । २०७७ सालमा संशोधन गरिएको कांग्रेसको विधानअनुसार कोषाध्यक्षबाहेक सबै पदमा निवार्चित भएर आउनु पर्ने हुन्छ ।
यसअघि महामन्त्री र उपसभापति मनोनित हुने व्यवस्था थियो । तर, अहिलेको विधानबाट त्यो व्यवस्था हटाएको हुँदा देउवालाई आफ्नो समूहका महामन्त्रीका आकांक्षीहरू धेरै भएकाले व्यवस्थापनमा कठिन परेको देखिन्छ । सभापति देउवा समूहमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, सहमहामन्त्री सुनिल थापा, सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू रमेश लेखक र एनपी साउद महामन्त्री पदका आकांक्षी हुन् ।
यीमध्ये एक जनाले मात्र महामन्त्री घोषणा गरेका छन् । गत भदौँ २४ गते पार्टी प्रवक्ता शर्माले महामन्त्री लड्ने औपचारिक घोषणा गरिसकेका छन् । उनले बिपी जयन्तीको अवसर पारेर सुन्दरीजलमा महामन्त्रीमा उठ्ने घोषणा गरेका थिए । शर्माले महामन्त्रीमा उठ्ने औपचारिक घोषणा गर्नुअगाडि नै पार्टी सभापति देउवालाई बालुवाटार पुगेर महामन्त्रीमा उठ्ने जानकारी गराएका थिए । उनी सकेसम्म देउवा समूहबाट नै महामन्त्री उठ्ने प्रयासरत छन् ।
तर, शर्माले देउवा समूहबाट महामन्त्री नपाएको अवस्थामा निधि समूहबाट उठ्ने तयारी रहेको एक नेताले बताए । त्यसले देउवालाई घाटा हुने ती नेताको भनाई छ । अर्का देउवा समूहका सहमहामन्त्री महत पनि महामन्त्री उठ्ने बताउँदै आएका छन् । औपचारिक घोषणा नगरे पनि सकेसम्म देउवा समूहबाट महामन्त्री उठ्ने नभए उपसभापति उठ्ने उनको तयारी रहेको उनी निकटहरू बताउँछन् ।
त्यसैगरी, देउवा निकट सुदूरपश्चिमका दुई नेता लेखक र साउद दुवै महामन्त्रीको तयारीमा देखिन्छन् । लेखकलाई त देउवाले क्रियाशील छानबिन समितिको संयोजकसमेत बनाए । लेखक निकट एक नेताका अनुसार उनले सकेसम्म महामन्त्री उठ्ने नभए सह महामन्त्री उठ्ने तयारी गरेका छन् । ती नेताले मेरो न्युजसँग भने, ‘रमेश दाइ देउवा समूहबाट नै महाधिवेशन उठ्नु हुन्छ, अन्य समूहमा जानु हुन्न ।’
यता, साउद पनि महामन्त्रीका लागि लामो समयदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा आफ्नो संगठन बलियो बनाउने अभियानमा देखिएका छन् । उनी निकट एक नेताका अनुसार एनपी दाइले महामन्त्री उठ्नकै लागि अहिलेसम्मको तयारी हो । उनले छिट्टै समूहमा छलफल गरेर महामन्त्री घोषणा गर्ने तयारीमा रहेको समेत ती नेताले बताए । सञ्चारमन्त्री कार्की र गृहमन्त्री खाँणले महामन्त्रीमा आकांक्षा राखे पनि यसबारे औपचारिक रूपमा व्यक्त गरिसकेका छैनन् ।
मधेसी जनअधिकार फोरमबाट कांग्रेस प्रवेश गरेका उपसभापति विजयकुमार गच्छदारलाई उपसभापतिमा देउवाले मनोनित गरेका थिए । गच्छदार पक्षले यसपाली कांग्रेसले २४ हजारभन्दा बढी क्रियाशील सदस्यता पाएको छ । गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई कांग्रेसले मनोनित सहमहामन्त्री नियुक्त गरेको थियो । राप्रपाबाट कांग्रेस प्रवेश गरेका करिब नाै हजार जना क्रियाशील सदस्य छन् । गच्छदार पुनः उपसभापति र थापालाई महामन्त्रीका आकांक्षी देखिएका छन् । यी दुई नेताहरूलाई देउवाले मिलाउन सकेन भने थप सभापति जित्न चुनौती थपिने छ ।
संस्थापन पक्षबाट देउवा समूह र संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट पनि यसपाली महामन्त्रीमा धेरै दाबेदार छन् । केन्द्रिय महाधिवेशन नजिकै जाँदा सभापतिका आकांक्षी पनि बढ्दै गएका छन् ।
अहिले कांग्रेसमा सभापतिका आकांक्षीमा संस्थापन समूहबाट अहिलेका सभापति स्वयम् र विमलेन्द्र निधि रहेका छन् । त्यस्तै, संस्थापनइतर समूहबाट डा. शंशाक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ सभापतिका आकांक्षी देखिएका छन् । संस्थापनइतर समूहमा महामन्त्रीका आकांक्षीहरू बढ्दै गएका छन् ।
आकांक्षी बढ्दा विधान संशोधनको चर्चा
संस्थापन र संस्थापनइतर समूहलाई नै टिम व्यवस्थापनमा अप्ठायारो भएपछि विधान पुनः संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको छ । कांग्रेसमा उपसभापतिमा एक जना महिला र सहमहामन्त्रीमा थप २ जना गरेर जानु पर्ने गरी भित्री रूपमा छलफल सुरु भएको छ ।
यद्यपि, यस विषयमा अहिले नै कांग्रेसले कुनै निर्णय लिएको छैन । टिम मिलाउन संस्थापन र संस्थापनइतर दुवै समूहमा सकस परेमा स्वार्थ मिल्न जाँदा पदाधिकारीको संख्या थप हुने गरी विधान संशोधन हुन सक्ने बारेमा कांग्रेसभित्र छलफल चलेको बताइएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुरकाे पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया