अनि बाटो मोडे प्रकाशमानले रामचन्द्र गुटसँग

काठमाडौँ । पार्टीको आशन्न १४औं महाधिवेशन र २८ कात्तिकमा राखिएको केन्द्रीय कार्यसमिति बैठकबारे धारणा बनाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २६ कात्तिकमा आफ्नो गुटका नेताहरुको बैठक राखेका थिए । त्यो बैठकमा गुटका हस्ती पूर्वमहामन्त्री प्रकाशमान सिंह अनुपस्थित भए । त्यसपछि कांग्रेस नेता कार्यकर्ताले पौडेल गुटबाट सिंह अलग भएको सार्वजनिक रुपमै भन्न थालेका छन् ।
सिंह पौडेल गुटबाट अलग भएको र पौडेलले बोलाएका बैठकमा उपस्थित नभएको यो पहिलो पटक भने होइन । उनी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्दाखेरी पौडेलसँग भएको असमझदारीपछि बैठकमा सहभागी हुन छाडेका थिए । देउवाले २२ असोजमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसपछि आक्कलझुक्कल बाहेकका बैठकमा सिंह अनुपस्थित रहदै आएका थिए ।
मन्त्री सिफारिस
खासगरी पौडेलसँग सिंह र उनी पक्षीय नेताहरु आफ्नो गुटबाट मन्त्री सिफारिस गर्दा आफूसँग सल्लाह नगरेको भन्दै रिसाएका हुन् । सिंहले समूहमा छलफल गरेर उपयुक्त हिस्सा दिएमा सरकारमा सहभागी हुने नभए पनि केही फरक नपर्ने बताइरहेका थिए । पौडेल समूहले कम्तिमा तीन मन्त्री पाउनु पर्ने र त्यसमा एउटा आफूले सिफारिस गरेको नेतालाई मन्त्री बनाइनु पर्ने धारणा सिंहको थियो । तर, पौडेलले न देउवासँग तीन मन्त्री चाहिन्छ भनेर अड्डी लिन सके, न त सिंहको सिफारिसमा एक नेतालाई मन्त्री बनाए । त्यसपछि उनीहरुको सम्बन्ध चिसिएको हो ।
सिंह निकट एक नेताका अनुसार पौडेलले सिंहसँग प्रष्टीकरण दिँदा भने आफ्नो समूहको सिफारिसमा दुई नेता मन्त्री भए पनि आफ्नो सिफारिसमा मन्त्री नभएको बताउँदै आएका छन् । आफूले सिफारिस नगर्दा पनि महामन्त्री डा. शशांक कोइरालाले दुई नेताको नाम सिफारिस गरेकाले मन्त्री भइहाल्ने र पौडेलले आफूहरु मन्त्री बन्न लाग्दा अवरोध सृजना गरेको भन्दै महाधिवेशनमा अफ्टेरो पर्ने भन्दै केही नबोलेको प्रष्टीकरण पनि सिंहलाई पौडेलले दिएका छन् । महामन्त्री डा. कोइरालाको सिफारिसमा दीलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा डा. मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका छन् । सिंहले राजेन्द्र केसीलाई मन्त्री बनाउन सिफारिस गरेका थिए ।
हैसियत अनुरुप समूहमा कुराको सुनुवाइ भएन
आफू पूर्वमहामन्त्री भएको र उपत्यकालगायत जिल्लामा राम्रो पकड रहेको नेता सिंहले दाबी गर्दै आएका छन् । काठमाडौं उपत्यकामै नभए पनि १० निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा उनको राम्रो पकट रहेको भर्खरै सम्पन्न भएको पार्टीको पालिकासम्मको अधिवेशनमा देखिएको छ । तर, आफूलाई पौडेल र त्यस समूहका अन्य नेताहरु त्यस अनुरुपको व्यवहार नगरेको सिंहको आरोप रहँदै आएको छ । १२ औं महाधिवेशनको पूर्वसंध्यामा तत्कालिन देउवा गुट र अहिलेको संस्थापनबाट तत्कालिन कोइराला र अहिलेकोे पौडेल गुटमा आएर सिंह निर्वाचित महामन्त्री भएका थिए । आफू आएपछि मात्रै १२ औं महाधिवेशनमा सुशील कोइरालाले सभापति जितेको र अहिले पनि सम्मानजनक हैसियत रहेको सिंहको दाबी रहदै आएको छ । खासगरी नेवार समुदायमा सिंहको राम्रो पकड छ । उनले महाधिवेशमा सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । तर त्यो पौडेल समूहको हस्ती भनिएका कोइराला परिवार र अन्य नेताहरु मान्न तयार छैनन् । त्यसैले उनी पौडेल समूहबाट अलग भएर आफ्नो अस्तित्व देखाउने अभियानमा लागेको नेताहरु बताउँछन् ।
को को छन् नेता ?
भर्खरै सम्पन्न पार्टीको पालिकासम्मको अधिवेशनमा १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका युवा नेता गगन थापा र सिंहबीच सहकार्य भयो । यसले उपत्यका र त्यसमा पनि काठमाडौं जिल्लामा सिंह थापा प्यानलले संस्थापनलाई माथ खुवायो । काठमाडौंका पार्टीका जिल्ला सभापति सवुज बानिया, नेता तथा सांसद राजेन्द्र श्रेष्ठ, रामकृष्ण चित्रकार, चन्द्र महर्जन, गुल्मी सभापति भुवन श्रेष्ठ, काभ्रेका नेता कञ्चनचन्द्र बाधेको बलियो साथ नेता सिंहलाई छ । केही समयअघि निधन भएका नेता नविन्द्रराज जोशीको पनि बलियो साथ सिंहलाई थियो । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ पनि सिंहसँग निकट मानिन्छन् । अहिले सिंहले छुट्टै गुट सञ्चालन नगरेकाले नदेखिएका केन्द्रीय समितिमा रहेका नेताहरु पनि उनी पौडेल समूहसँग अलग भएमा देखिने नेताहरुको दाबी छ । यदी कोइराला परिवार, पौडेल र सिंह फरक फरक कित्तामा लाग्ने हो भने कोइराला परिवारसँग जत्ति नभए पनि सिंहको पौडेलको भन्दा बढी मत हुँने नेताहरु बताउँछन् ।
महाधिवेशनमा पौडेल समूहबाट सिंह अलग भएमा अहिलेका उपसभापति र महाधिवेशनमा सभापतिको दाबेदारी प्रस्तुत गरेका विमलेन्द्रसँग सहकार्य हुने धेरै नेताहरुले बताउने गरेका छन् । तर, पौडेल र अन्य नेताहरुले पछिल्लो समय सिंहलाई त्यति बाल दिएका छैनन् ।
















इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया