शनिबार, पुष ५, २०८२

घरजग्गा किनबेचको कारोबार तथ्याङक ब्यवस्थित राख्न आग्रह

मेरोन्यूज २०७८ मंसिर ३ गते १८:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ सङगठनले कारोबार गरेको तथ्याङक सहि राख्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजजिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङक सर्वेक्षण गर्न सहज हुने भन्दै सहि तथ्याङक राख्न व्यवसायीलाई आग्रह गरे ।

गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघहरुले गरेको कारोबारको सहि तथ्याङक राख्दा घरजग्गा कारोबारमा अहिले भइरहेको असमान मूल्यमा समानता ल्याउन सहयोग पुग्ने बताए ।

उनले घरजग्गा व्यवसायी,बैंक र मालपोतबाट हुने मूल्य सूचाङ्क एक भएमा घरजग्गा सर्वेक्षण प्रतिवेदनमा बजारमा भइरहेको कारोबार अनुसार सत्यतथ्य सूचाङ्क आउन सक्ने बताए ।

करिव दुई बर्षको मेहेनतपछि पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको उनले बताए ।

अहिले केही तथ्यपरक नभए पनि आगामी तीन–तीन महिनामा सार्वजनिक हुने तथ्याङमा सुधार गर्दै लैजाने बताए ।

घरजग्गा कारोबार गर्दा मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको गभर्नर अधिकारीले बताए ।

राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकांक तयार पार्नका लागि देशब्यापी सर्वेक्षण गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले बताए ।

निर्देशक डा.श्रेष्ठले घरजग्गा मूल्य सूचकाङ्क तयार गर्दा प्रत्येक प्रदेशको नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरेर प्रतिवेदन तयार पारिएको बताए ।

अब राष्ट्र बैंकले त्रैमासिकरुपमा घरजग्गाको मूल्य सूचकांक सार्वजनिक गर्ने समेत उनले जानकारी दिए । राष्ट्र बैंकले गरेको सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ ।
मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको मुद्रास्फीति १९.७३ प्रतिशत छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा औसत घरजग्गा मुद्रास्फीति १६.३१ र १२.५७ प्रतिशत रहेको छ । प्रतिवेदनमा घरजग्गा रजिस्ट्रेशनको कुल कारोबार सख्याको आधारमा जग्गाको भार अंक ७६.६७ प्रतिशत र घरजग्गाको भार अंक २३.३३ प्रतिशत छ ।

त्यस्तै, सात प्रदेश मध्ये सबै भन्दा धेरै वागमती प्रदेशमा घरजग्गाको भार २९.२२ प्रतिशत र सबै भन्दा कम कर्णाली प्रदेशमा ३.६३ प्रतिशत रहेको छ ।

वागमतीपछि प्रदेश नम्बर १ मा २७.१३ प्रतिशत,लुम्बीनी प्रदेशमा १७.४२ प्रतिशत, प्रदेशमा न.२ मा १२.०४ ,गण्डकीमा ६.८१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ३.७५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया