प्रकाशमान सिंहको सभापति नछोड्ने अडानका साथ दौडधुप
कात्तिक अन्तिम साता भारत पुगेर आएपछि झन् प्रकाशमान कठोर, कसैलाई सभापति नछाड्ने अडानमा अडिग

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनमध्येका एक नेता गणेशमान र मंगलादेवीका पुत्र हुन – प्रकाशमान सिंह । सिंह कांग्रेस शीर्ष नेताहरुमध्येका एक हुन् । नेपाली कांग्रेसको सामान्य सदस्य भएर राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य बने । १२ औं महाधिवेशनको पूर्वसंध्यामा तत्कालिन देउवा गुट र अहिलेको संस्थापनबाट तत्कालिन कोइराला र अहिलेकोे पौडेल गुटमा आएर सिंह निर्वाचित महामन्त्री भएका थिए ।
१३ औं महाधिवेशनमा सभापतिमा बरिष्ठ नेता पौडेललाई र महामन्त्रीमा कोइरालालाई उनले सहयोग गरे । तर सधैं अन्य नेतालाई मात्रै सहयोग गरिरहन नसक्ने भन्दै अहिलेको महाधिवेशनमा आफुलाई सघाउँन नेताहरुलाई सिंहले आग्रह गरिरहेका छन् ।
सिंह १४ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीबाट कुनै हालतमा फिर्ता नहुने भन्दै कस्सिएका छन् । सिंहले आफूले विरासतको राजनीति नगर्ने, आफ्नै बलिबुतोमा राजनीति गर्ने भन्दै सभापतिमा दह्रो दाबी गदै आएका छन् । उनले आफू पूर्वमहामन्त्री भएको र उपत्यकालगायत जिल्लामा राम्रो पकड रहेको जिकिर पनि गरिरहेका छन् ।
‘पार्टीको नेतृत्व शेरबहादुर र रामचन्द्र दुबैले गर्न सक्दैनन्, पदमा बस्ने तर काम नगर्ने ? अनि पद मात्रै चाहियो भनेर हुन्छ ? पार्टी चलाउन क्षमता र अनुभव चाहिन्छ,’ कांग्रेस अहिले किन लथालिंग बन्न पुग्यो भन्ने उदाहरण दिँदै सिंहले जिल्ला–जिल्ला पुगेर कार्यकर्ताबीच खरो भाषण दिदै आएका छन् । सिंहले आफूनिकटहरूसँग अब पौडेलले बोलाएको गुट बैठकमा नजाने बरू आफ्नै बलबुताले सभापति लड्ने बताईरहेका छन् । त्यसको तयारीमा जुट्न पनि उनले आफुनिकटलाई अह्राई सकेका छन् ।
१० निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लाको पालिका अधिवेशन र प्रदेश सभा क्षेत्रीय अधिवेशनको नतिजाले काठमाडौंमा उनको राम्रो पकड रहेको देखाएको छ । खासगरी नेवार समुदायमा सिंहको राम्रो पकड छ । उनी पौडेल समूहबाट अलग भएर आफ्नो अस्तित्व देखाउने अभियानमा लागेको नेताहरु बताउँछन् । उनी अहिले कार्यकर्ता भेटघाटमा निक्कै ब्यस्त देखिएका छन् ।
पौडेलसँगको खटपटपछि भारत भ्रमणमा
पौडेलसँग भने मन्त्री छनौटदेखि सभापति देउवाले गठबन्धन दलका नेताहरु सम्मिलित राजनीतिक समन्वय समितिमा बस्न पठाएको लगायत विषयमा सिंह असन्तुष्ट बने । गत कात्तिक २६ मा पौडेलले बोलाएको गुट बैठकमा पनि उनी गएनन् ।
गुट बैठकको दुई दिन अघि नेपालगंञ्जमा कार्याकता भेटघाट गरेर सिंह रुपैडिया हुादै स्थलमार्गबाट दिल्ली पुगेका थिए । प्रकाशमान सिंह निकटका एक नेताका अनुसार उनले दिल्लीमा रहँदा भारतीय नेताहरू भेटे । भाजपाका अध्यक्ष जेपी नाडाले बोलाएर सिंह भारत गएको स्रोत बताउँछ । स्रोतका अनुसार भारत भ्रमणमा भाजपाका अध्यक्षले बोलाएर जाने सायद सिंह पहिलो कांग्रेस नेता हुन् ।
तर सिंहले भारत भ्रमणमा नाडासँगको भेटबारे खुलेर बताउन चाहेका छैनन् । बरु पारिवारिक भनेर टार्ने गरेका छन् । गत कार्तिक २७ गते उनी भारतबाट फर्केका थिए । सिंह निकट एक नेताले भने ‘प्रकाशमान दाई अझ भारतबाट आएपछि सभापति नछोड्ने अडानमा देखिनु हुन्छ ।’
सिंह अवका चुनावहरुमा गठबन्धनका नाममा चुनावी तालमेलको पक्षमा पनि छैनन् । सिंहले केन्द्रीय समिति बैठकमै चुनावी तालमेल नगर्न सभापति देउवालाई चेतावनी दिएका थिए । उनले सभापतिको दाबी नछोडने भन्दै तयारीमै जुटेपछि पौडेल पक्षका नेताहरु भने सिंहलाई फकाउन सिंह निवास चाक्सीबासी पुग्ने गरेका छन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा चिनिएका सिंहले आफ्नो दाबी नछाडेपछि पौडेलसँको सम्बन्धसमेत चिसिएको छ । सिंहले यसपालि राजेन्द्र केसीलाई मन्त्री बनाउन चाहेका थिए । तर पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाए । त्यसपछि भने पौडेल–सिंह सम्बन्ध चिसिएको छ । कांग्रेस विधानअनुसार नचलेको उनको भनाइ छ ।
पौडेलसँगको सम्बन्ध चिसिएपछि सिंहलाई फकाउन उक्त समूहका नेताहरु लागिपरेका देखिन्छन् । तर सिंहले फकाउँन आउँने सबैलाई एउटै जवाफ दिने गरेका छन् ‘अहिलेलाई मलाई सभापति बनाउँनुहोस् ।’ सिंह सरकारमा पनि यस अगाडी नै उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भइसकेका छन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।


















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सुजन बाग श्रेष्ठले चौथो पटक छेडाए जिब्रो
नयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यतासाथ अघि बढ्दै नबिल बैंक
रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया