बुधबार, फागुन २०, २०८२

रेमिट्यान्सले चलेको देशः बर्सेनि कति भित्रिन्छ रेमिट्यान्स ?

चार महिनामा १ खर्ब ३२ करोड रेमिट्यान्स भित्रियो

किरण अधिकारी २०७८ मंसिर ८ गते १८:४९

काठमाडौं । नेपालीहरु विदेशमा रोजगारीका लागि जान थालेसँगै रेमिट्यान्स (विप्रेषण आप्रवाह) वि.सं. २०५२ को अन्त्यतिरबाट नेपाली अर्थतन्त्रसँग जोडिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसभन्दा अघि वि.सं. २०४८ सालदेखि नेपालले श्रम स्वीकृति दिन सुरु गरेपनि माओवादी द्वन्द्वकाल शुरु हुँदा कामका लागि विदेशिनेको संख्यामा बढेको थियो । त्यसयता कामकै लागि विदेशिने नेपालीको संख्या वर्सेनि लाखौँमा विस्तार हुँदै रेमिट्यान्स खर्बौमा पुगेको छ ।

पछिल्लो समय बाह्य व्यापारमा प्रत्येक वर्ष हुने खर्बौँको व्यापार घाटालाई रेमिट्यान्सले नै सहयोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालको वैदेशिक व्यापारलाई सन्तुलनमा राख्ने काम पनि रेमिट्यान्सले गरेको अर्थविद् विश्वम्भर प्याकुरेलको भनाई छ ।

केन्द्रीय बैंकको सञ्चालक समितिका पूर्व सदस्य समेत रहेका उनले विश्व व्यापार संगठनको सदस्यता लिएको वर्ष सन् २००४ मा नेपालको व्यापारघाटा ८२ अर्ब रुपैयाँ थियो भने चालु आर्थिक वर्षमा यो बढेर १५ खर्बमा विस्तार भएको तथ्याङ्क प्रस्तुत गरे ।

उनले वैदेशिक व्यापारको यति ठूलो असन्तुलनलाई यही रेमिट्यान्सले थेगेको जानकारी दिँदै नेपालमा बर्सेनि १० खर्बको रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैंकलाई उद्धृत गर्दै चालू आर्थिक वर्षको ४ महिनामा १ खर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको उल्लेख गरे ।

विश्वमा कोरोना महामारी फैलिएसँगै रेमिट्यान्समा आश्रित नेपाली अर्थतन्त्र तहसनहस हुने अनुमान भएपनि कोरोना संक्रमणकालमा रेमिट्यान्स नघटेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकसँगै रेमिट्यान्सको काम गर्ने नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्स बढ्नुको कारण नेपालमा विदेशीबाट पैसा दुई च्यानलबाट भित्रिएको बताए । उनले भने, ‘एउटा फर्मल च्यानल जुन रेमिट्यान्स कम्पनीमार्फत आउँछ अर्को इलिगल च्यानलमार्फत आउने गर्छ ।’

अर्को मुख्य कोभिडको समयमा विचौलियाहरुले पैसा पठाउने काम गर्न नसक्दा फर्मल च्यालनबाट आएको पैसा धेरै देखिएको अध्यक्ष पोखरेलले बताए ।

नेपालमा ५० वटा कम्पनीबाट रेमिट्यान्स भित्रिने गरेको छ । तिनमा पनि आईएमई प्रालिबाट धेरै भित्रिन्छ ।

त्यस्तै, प्रभु मनी ट्रान्सफर, सीटी एक्सप्रेस मनी ट्रान्सफर, आईपे रिलायबल रेमिट्यान्स, सीजी फिन्को, सीजी मनी रेमिट, अन्नपूर्ण ट्राभल एण्ड टुर्स, हुलास रेमिट्यान्स, युनाइटेड रेमिट र वेस्टर्न युनियन मनी ट्रान्सफरलगायतका कम्पनीबाट रेमिट्यान्स भित्रिने गरेको नेपाल रेमिटर्स एसोसिएसनले जनाएको छ ।

मेरोन्युजसँगै कुरा गर्दै नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष पोखरेलले रेमिट्यान्स बजारमा आईएमईको हिस्सा झण्डै २५ प्रतिशत रहेको दाबी गरे । उनले कुन कम्पनीको कति हिस्सा छ भनेर राष्ट्र बैंकले सार्वजनिक नगरेपनि आएको रकम र कम्पनीको रकम हेरेर हिसाब गर्दा आईएमीको हिस्सा २५ प्रतिशत रहेको उनको भनाई छ ।

आईएमीका सिइओ समेत रहेका पोखरेलले अहिले वाणिज्य बैंकहरुले पनि रेमिट्यान्स भित्र्याउन थालेपनि उनीहरुको ३० प्रतिशत बजार हिस्सा रहेको जानकारी दिए ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया