शनिबार, वैशाख ५, २०८३

देउवाले भने– अरुको पार्टी कस्तो छ, आँखा धेरै लगाउनु पर्दैन

मेरोन्यूज २०७८ मंसिर १४ गते १८:४४

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

काठमाडौंमा नेता रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता शुवर्ण शमशेर’ पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगरी आफ्नै पार्टीको चिन्ता गर्न आग्रह गरे ।

उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए ।

प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए ।

‘हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरुको भन्दा ठूलो पार्टी बनाउँ ।’– देउवाले भने ।

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए ।

उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन पनि सुझाव दिए ।

कांग्रेस सभापति देउवाले निर्णय गर्न नसक्ने भनी नेता प्रकाश महतले गरेको आलोचनाको पनि देउवाले प्रतिवाद गरे ।
‘निर्णय भन्दैमा जथाभावि गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ ।’– देउवाले भने ।

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानको स्मरण गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया