मंगलबार, पुष १, २०८२

एमाले महाधिवेशनः केपी ओली र पदाधिकारीको सपथ

मेरोन्यूज २०७८ मंसिर १४ गते २०:२२

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सहमतिका नाममा निर्वाचनबिना नै आफू अध्यक्ष हुने प्रयास असफल भएपछि ओली निर्वाचनमा होमिन बाध्य भएका थिए ।

बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई पद तथा गोपनीयताको सपथ गराए । अन्य पदाधिकारी र सदस्यलाई भने ओलीले सपथ गराएका थिए ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगकाअनुसार, कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार ८३७ मत प्राप्त गरेका थिए ।
दुई हजार १५३ प्रतिनिधि रहेको महाधिवेशनको मंगलबार भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्यलगायत छ जना उपाध्यक्षमा निर्वाचित भए भने यसअघिका उपमहासचिव घनश्याम भुसाल पराजित भए ।

अन्तिम मत परिणामअनुसार शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापाले एक हजार ७६८ मत प्राप्त गर्दा भुसालले ७२५ मतमात्रै पाए । भुसाल नवौं अधिवेशनमा बढी मत पाउने नेतामा थिए । पछिल्लो समय ओली प्रवृत्तिको विरोध गरेकै ओलीको शिकार बन्न पुगेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायतलाई ओलीले नै पदाधिकारी घोषणा गरेका थिए ।

प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव बनाइयो भने गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पदमा अर्याल मतदानबाटै निर्वाचित भए ।

यस्तै, एमाले केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित भएका छन् ।

मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा मंगलबार विहान ४ बजे भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरे । दश बुँदे सहमति गरेका नौ नेताले नै रावललाई भोट नदिने आंकलन गरिएको थियो ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते नेता भीम रावलको असहमतिका बाबजुद अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो ।

अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाए पनि डा रावल, नेता घनश्याम भुसालले स्वीकार नगरेपछि ओली अन्ततः निर्वाचन गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया