आइतबार, वैशाख ६, २०८३

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

मेरोन्यूज २०७८ मंसिर १६ गते ७:४८

काठमाडौँ । भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको कपडा क्यारिङ्ग गर्नेले ल्याएको खुलेको छ । यस क्षेत्रका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ्ग गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीसँग क्यारिङ्ग गर्नेले पिसको हिसावले कपडा गन्तब्यसम्म पुर्याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ । कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि मोटरसाइकल र कपडा छोडेर फरार भएको र उनीहरुको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको घोडासहनबाट बारा र रौतहटको विभिन्न बजारमा क्यारिङ गरेर कपडा तस्करी गर्ने ठूलो समूह रहेको बताइएको छ । बरामद भएको कपडा र मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

बारा र रौतहट जिल्लाका विभिन्न नाका हुँदै भारतबाट लत्ताकपडा, किराना, हार्डवेयरसहित प्रतिबन्धित लागुऔषधको पनि चोरी तस्करी बढेको स्थानीयवासीले बताएका छन् । नेपालबाट सुपारी, लागुऔषध गाँजालगायतका मालसामान भारततर्फ चोरी तस्करी हुने गरेको पाइएको छ । स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया