तीन करोड लगानीमा खुलेको नवलपुरको थारु कम्युनिटी लज

नवलपुर । नवलपुरस्थित थारु कम्युनिटी होमस्टेको परिवेश कम्ति रमाइलो छैन । पहेंलपुर तोरीबारीको बिचमा रहेको यो होमस्टे शान्त र सुन्दर छ । स्थानीय जनजीवन, रहनसहन र संस्कृति नियाल्न पाउनु यहाँको विशेषता हो ।
होमस्टेबाट थोरै अगाडि बढेपछि नारायणी नदी पुगिन्छ । नारायणीको किनारमा बसेर मनमोहक दृश्यावलोकन गर्नु, जंगली वन्यजन्तु हेर्नु, साँझपख सूर्यास्त हेर्नुमा बेग्लै आनन्द छ ।
दोस्रो लकडाउन खुलेपछि नवलपुरको थारु कम्युनिटी होमस्टेमा पहिला भन्दा बाक्लै चहलपहल छ । नेपाली मात्र होईन विदेसीहरुको रोजाइमा पर्ने गरेको यो होमस्टेमा रुम पाउन गार्हो हुन्छ । अनलाइन र फोनका माध्यमबाट रुम बुक गर्न सकिने सञ्चालक मध्येका एक जनक चौधरीले बताए । पहिलो पटक २ वर्ष अगाडि यो होमस्टे सञ्चालनमा आएको हो । त्यसको पाँच महिनापछि लकडाउनले बन्द हुन पुग्यो ।
बिगत दुई महिना यता सञ्चालनमा आएपछि विशेषयरी विदेसीहरुको भीड लाग्ने गरेको सञ्चालक चौधरीले सुनाए । ‘केही अघि इजरायली, ब्रिटिशहरुको टिम आयो ।’ चौधरीले सुनाए, ‘अन्य देशबाट विदेशीको बुकिङ आइसकेको छ ।’
थारु कम्युनिटी होमस्टे तीन जना व्यक्तिको लगानीमा सञ्चालनमा आएको हो । जनक चौधरी (नवलपुर), वुद्धिसेन चौधरी (चितवन), ब्रम्देव चौधरी (सर्लाही) ले यसको सञ्चालन गरेका हुन् । नवलपुरका जनक चौधरीको पुख्र्यौली दुई बिघाहा जमिनमा यो होमस्टे फैलिएको छ । यसको सम्पूर्ण संरचना तयार हुन १ सय ५ दिन लागेको थियो ।

यस होम स्टेका सञ्चालक मध्येका एक जनक सुरुमा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ७ वटा लजहरु मध्ये चितवन जंगल लजमा काम गर्थे । उनले ०४२ देखि ०६९ सम्म नेचर गाइडको रुपमा काम गरे । ०६९ पछि निकुञ्जभित्रका होटलहरुको एग्रिमेन्ट नथपिएपछि बाहिर निस्किनु पर्यो । जुन होटलमा जनकले काम गर्थे, त्यो होटल सञ्चालनमा आएन । बरु नवलपरासीकै कावासोतीमा सञ्चालनमा आएको मचान कन्ट्री भिल्लामा दुई वर्ष काम गरे ।
उनले पछि गएर चितवनको बरौलीको होमस्टेमा पनि कामको अनुभव बटुले । आफ्ना अन्य दुई साथी वुद्धिसेन चौधरी, ब्रम्देव चौधरीसँग छलफल गरिसकेपछि नवलपुरमा थारु कम्युनिटी होमस्टे सञ्चालनमा आएको हो । सञ्चालक चौधरीका अनुसार हालसम्म एकमुष्ठ लगानी ३ करोड रुपंैयाँ खर्च भईसकेको छ ।
बुद्धिसेनले होमस्टेको मार्केटिङको जिम्मेवारी सम्हालिरहेका छन् भने जनकले म्यानेजमेन्ट सम्हालिरहेका छन् । ब्रम्देवले भने आफ्नै जागिर गरिरहेका छन् । थारु कम्युनिटी होमस्टेले गाइड, कुक, हाउसकिपिङ, ड्राइभर र वेटर गरेर १६ जनालाई रोजगारी प्रदान गरेको छ । यस होमस्टेमा जम्मा १५ वटा रुमहरु उपलब्ध छन् । जसमा ७ वटा एसि रुम र ८ वटा नन एसी रुम छन् । एसि रुमका लागि २ हजार ५ सय र नन एसिका लागि १ हजार ५ सय रुपंैयाँ मूल्य तोकिएको छ । विदेशीहरुका लागि भने फरक मूल्य तोकिएको छ । विदेशीका लागि एसी रुमको ४५ र एसी नभएको २५ डलर तोकिएको छ ।

थारु कम्युनिटी होमस्टेका आकर्षण
पाहुनाहरुको आगमन हँुदा थारु कम्युनिटी होमस्टे थारु पहिरनमा सजिएका व्यक्तिले फूलमाला, टीका लगाएर स्वागत गर्ने चलन छ । त्यसैदिन गाउ घुमाउने चलन पनि छ । साँझपख प्रोजेक्टरमार्फत संस्कृति, वाइल्ड लाइफको प्रस्तुती देखाउने गरिन्छ ।
अर्को दिन बिहान ब्रेकफास्ट खुवाएर ३ देखि ४ घण्टा जीप सफारी गराइन्छ । फर्केर खाना खाइसकेपछि सूर्योदयको दृश्यावलोकन गर्न र बोटिङ गर्न नारायणी नदी पुर्याइन्छ । साँझपख स्थानीय महिलाहरुले थारु नाँच प्रदर्शन गर्छन् । थारु नाँच ४५ मिनेटदेखि १ घण्टासम्मको हुने गर्छ । सर्ट स्टेप र लङ स्टेपको नाँचले आगन्तुकहरु मन्त्रमुग्ध हुन्छन् । थारु नाँच हेर्न अतिरिक्त ५ हजार रुपैंयाँ तिर्नुपर्ने हुन्छ ।
थारु नाँच देखाउन २२ जनाको छुट्टै टोली छ । डिनरपछि बार्बिक्यू गर्न पाइने सुविधा पनि छ । भिलेज वाक, जंगल सफारी, बर्ड वाचिङ, नारायणी नदीमा काठको डुंगामा बोटिङको आनन्द लिन पाउँदा यहाँ घुम्न आउनेहरु सबै कुरा भुलिदिन्छन् ।
थारु कम्युनिटी होमस्टेको मेनु
यो होमस्टेमा डिनर र लन्चसँगै थारु सेट, हाँसको छोयला, पोर्क बार्किक्यु, चिकेन बार्बिक्यू जस्ता आइटम उपलब्ध छन् । यो होमस्टेको मेनु धेरै महंगो छैन । भेज खानाको २ सय ५०, नर्मल चिकेनको ३ सय ५० रुपैंयाँ राखिएको छ । लोकल चिकेन र मटन खाना पनि अर्डर अनुसार बनाईन्छ । राती आँगनमा बार्बिक्यु गरेर बस्न, आगो ताप्न मिल्ने सुविधा पनि छ ।
कसरी पुग्ने होमस्टेसम्म ?
चितवनको भरतपुरबाट पूर्वी नवलपरासीको कावासोती पुगेपछि दक्षिणतिर अघि बढ्नुपर्छ । कावासोतीबाट यो होमस्टेसम्म पुग्न जम्मा ९ किलोमिटरको मात्र दुरी छ । फेसबुक पेज वा वेवसाइटमार्फत पनि सम्पर्क गर्न सकिन्छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
प्रतिक्रिया