शुक्रबार, फागुन २२, २०८२

एमाले केन्द्रीय कमिटी बैठकअघि नै स्थायी कमिटीमा लविङ

२६ पदमा ५० बढी आकांक्षी

मेरोन्यूज २०७८ मंसिर १९ गते १७:५९

काठमाडौं । नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि मुल नेतृत्वले स्थायी कमिटी र पोलिटव्यूरो गठनको तयारी थालेको छ । नेतृत्वले स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने तयारीसँगै नेताहरुले सो कमिटीमा पर्न तीब्र लविङ शुरु गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आगामी २५ गते देखि सुरु हुने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने भएपछि नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापालाई भेटेर लविङ शुरु गरेका हुन् । ‘केन्द्रीय कमिटीको बैठक अघि नै यो विषयमा नेताहरुबीच सहमति हुने भएकाले पनि लविङ गर्नु परेको हो’, एक नेताले भने ।

एमालेको विधानमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोमा गरी १ सय ४४ जना नेताहरु व्यस्थापन हुँदैछन् । विधान महाधिवेशनले निस्तेज पारेको पोलिटब्यूरो महाधिवेशनले व्यूँताएपछि नेताहरुले यो कमिटीमा आफू पर्न लविङ थालेका हुन् ।

त्यस्तै, यही कमिटीले १० प्रतिशत केन्द्रीय सदस्यहरुको पनि मनोनयन हुने भएकाले केन्द्रीय सदस्य नभएका नेताहरुले पनि लविङ थालेका छन् । केन्द्रीय कमिटीबाट निर्वाचित भएका नेताहरुबाटै स्थायी कमिटी र पोलिटव्यूरो गठन हुने भएकाले केन्द्रीय सदस्यहरुले नै स्थायी कमिटीलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

एमालेको विधान अनुसार ४५ सदस्यीय स्थायी समितीमा १९ जना पदाधिकारी स्वतः पर्नेछन् । बाँकी रहेका २६ वटा पदमा करिव ५० जना आकांक्षी छन् । उमेरको हदले अवकास पाएकाबाहेक अघिल्लो स्थायी कमिटीमा भएका नेताहरुलाई स्वत दोहो¥याउने मनस्थितिमा अध्यक्ष केपी शर्मा ओली रहेका कारण थोरै संख्यामात्रै स्थायी कमिटीमा पर्नेछन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले कम्तीमा पाँच जना सदस्यहरु आफूहरुले पाउनु पर्ने दाबी गरिरहे पनि प्रभु साहबाहेक अरु स्थायी कमिटीमा पर्ने सम्भावना निकै कम रहेको छ । टंक आङबोहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह, धर्म रेग्मी, दिनेश पन्थी, चन्द्रबहादुर खड्का लगायतले स्थायी कमिटीमा लविङ गरेका भएपनि उनीहरुलाई पोलिटव्यूरोमा लगिने सम्भावना रहेको छ ।

अघिल्लो पटक स्थायी कमिटीमा भएर यसपटक पदाधिकारीमा नपरेकाहरुमा घनश्याम भूसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त, मणिचन्द्र थापा गरी छ जना नेताहरु स्थायी कमिटीमा स्वतः पर्ने देखिन्छ । भीम रावलले केन्द्रीय सदस्यमा नै सपथ नखाएको अहिले उनलाई स्थायी कमिटी गणना गरिएको छैन तर उनका लागि एक सिट खाली राख्ने सम्भावना पनि रहेको छ ।

एउटा पक्षले रावललाई मनाएर स्थायी कमिटीमा राख्ने र लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन् ।

खासगरी दोस्रो पुस्ताका नेताहरुले एक तिहाइ सदस्य नयाँ अनुहार लैजानु पर्ने माग गरेका छन् ।

स्थायी कमिटीमा जानका लागि भानुभक्त ढकाल, अग्नि खरेल, देवराज घिमिरे, गुरु बराल, कर्ण थापा, यामलाल कँडेल, राधा ज्ञवाली, शेरबहादुर तामाङ, शेरधन राई विन्दा पाण्डे, शिवमाया तुम्बनहाङफे, हिक्मत कार्की, श्रीमाया थकाली, थममाया थापा राजन भट्टराई, उषाकला राई, बैजनाथ चौधरीले लविङ गरिरहेका छन् ।

काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, देवेन्द्र दाहाल, गोकुल बाँस्कोटा, गोरखबहादुर बोगटी, पर्शुराम मेघी गुरुङ, महेश बस्नेत,सीता पौडेल, सुजिता शाक्य लगायतको आकांक्षा पनि देखिएको छ ।

अहिले त्यसका लागि उपाध्यक्षद्वय विष्णु पौडेल, रामबहादुर थापा र महासचिव शंकर पोखरेलले गृहकार्य गरिरहेका छन् । स्थायी कमिटीमा पर्नका लागि नेताहरुले अध्यक्ष ओली, उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा र महासचिव शंकर पोखरेलसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

चितवनबाट फर्केपछि केन्द्रीय सदस्यहरुले पौडेल, थापा र पोखरेललाई भेटेर नेताहरुले स्थायी कमिटीका लागि लविङ गरिरहेका छन् । उनीहरुले अहिले स्थायी कमिटीमा परे आगामी दिनमा आफ्नो बरियता बलियो हुने भएकाले पनि लविङ गरेका छन् ।

प्रतिक्रिया