शनिबार, वैशाख ५, २०८३

भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाईमा अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा

मेरोन्यूज २०७८ मंसिर २० गते १८:०३

काठमाडौँ । भारत र अमेरिका र बेलायतका प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएको छ ।

समितिले बेलायतका प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका प्रस्तावित राजदूत डा. शंकर शर्मा र अमेरिकाका प्रस्तावित राजदूत श्रीधर खत्रीको नाम अनुमोदन गरेको हो ।

सोमबार तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि समितिले तीनै जनाको नाम सर्वसम्मत अनुमोदन गरेको गरेको हाे । गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रस्तावित राजदूतहरुले सोमबार संसदस्य सुनुवाईका क्रममा अन्तर्राष्ट्रिय सम्बन्धकाबारेमा चासो ब्यक्त गरेका छन् ।

बेलायतका लागि प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आचार्यले नेपालका प्रधानमन्त्रीहरुले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो । आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोशिस गर्ने बताए ।

त्यसैगरी भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले पनि नेपाल र भारतकाबीच विश्वासको सम्बन्ध बनाउनुपर्नेमा जोड दिए ।

उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशविच विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

उनले नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रुपमा अगाडी लिएर जानुपर्ने आवश्यकता औँल्याए ।

उनले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडी बढ्ने बताए ।

बैठकमा सांसदहरुले आर्थिक कुटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदुतहरुलाई सुझाव दिएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरुको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदुतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भूतपूर्व गोरखा सैनिकहरुको माग सम्बोधन गराउन पनि बेलायतका लागि प्रस्तावित राजदुत आचार्यले भूमिका खेल्नुपर्ने बताए ।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदुतहरुले राष्ट्रकै प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले संसदमा हुने राष्ट्रकै चासोको विषयमा पनि नेपाली राजदुतहरुले चासो लिएर राष्ट्रिय हितमा तत्काल दृष्टिकोण बनाउनुपर्ने बताए ।

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले राजदुतहरुले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए ।

सांसद गुरुङले विदेशी लगानी नेपालमा भित्र्याउने वातावरण निर्माण गर्ने काममा राजदुतहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया