शुक्रबार, पुष ४, २०८२

कांग्रेस महाधिवेशन

नेतृत्वको रस्साकस्सीः पौडेल समूहमा कसले गर्ने त्याग ?

रामचन्द्रका लागि शशांक ब्याक’

मेरोन्यूज २०७८ मंसिर २१ गते १९:२३

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफ्नो पक्षमा नेतृत्व हत्याउन संस्थापन पक्ष र संस्थापन इतर पक्ष जोडतोडले लागिरहेको छ ।

संस्थापन पक्षबाट स्वयं शेरबहादुर देउवा नै आगामी नेतृत्व हात पाउने दाउमा छन् तर उनी पक्षकै विमलेन्द्र निधिले सभापतिमा उम्मेवारी घोषणा गरेको महिनौं भइसक्यो ।

संस्थापन इतर (पौडेल) पक्षमा पनि उस्तै बबण्डर छ । महाधिवेशन शुरु हुन दुई दिन मात्रै बाँकी हुँदा पनि सहमति जुटाउन हम्मेहम्मे परेको छ ।
पौडेलसमूहबाट चार जनाले सभापतिमा लड्ने आकांक्षा राखेपछि कसकसले त्याग गर्ने भन्ने प्रश्न खडा भएको छ । पार्टी सभापतिमा आफ्नो पक्षबाट एक जना बलियो उम्मेदवार उठाउनुपर्ने बाध्यता पौडेल समूहलाई छ ।

संस्थापन इतर समूहबाट रामचन्द्र पौडेलसहित डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको दाबेदार छन् ।

पार्टी सभापतिको उम्मेदवार बन्ने सुरसारमा चारै जनाले देशब्यापी अभियान चलाएको वर्षौं भइसक्यो । तर अन्तिम समयमा एउटा साझा उम्मेदवार खडा गर्ने प्रयास स्वरुप मंगलबार घण्टौदेखि पौडेलसमूह छलफलमा छ ।

सोमवार पनि यो समूहको छलफल बरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको थियो । सोमवारको छलफलमा ४८ घण्टाभित्र साझा उम्मेदवार तय गर्ने निश्कर्षपछि मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आकांक्षी सहितका नेताहरु जुटे ।

निर्णायक भनिएको यो छलफलमा एकले अर्कालाई त्यागको कुरा गरिरहेका छन् ।

रामचन्द्रका लागि शशांक ब्याक’

संस्थापन इतर समुहका सभापतिका आकांक्षी डा. शशांक कोइरालाले अन्तिम समयमा रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताएका छन् ।

सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छाडिदिएको बताए ।

उनले भने– ‘रामचन्द्र पौडेल जीले एकपटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएको हँु ।’ यो छलफलमा नेता प्रकाशमान सिंहले भने आफू पछि हट्ने संकेत दिएका छैनन् ।

सहमति जुटे पौडेलले पनि त्याग गर्ने

आफ्नो समूहमा सहमति जुटाउनका लागि वरिष्ठ नेता पौडेलले पनि आफू त्याग गर्न तत्परता देखाएका छन् ।

आफ्नो पक्षबाट साझा उम्मेदवार बनाउनकै लागि आफू एक पटक त्याग गर्न तत्पर देखिएको बताएका छन् । आफ्नो समूहका अरु नेताहरु नमिलेपछि पौडेलले आफूले नै त्याग गर्ने कुरा गरेका हुन् ।

‘तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । होइन भने मलाई नै सघाउनुस्,’ नेता पौडेलले चाक्सीबारी छलफलमा पुनः दोहोर्याएका छन् ।
नेताहरु त्यागको भावनामा देखिएकाले गर्दा साझा उम्मेदवार तय हुने विश्वास केन्द्रीय सदस्य गुरुराज घिमिरेले गरे ।

संस्थापन इतर समूहका नेताहरुलाई एकता कायम गर्न दबाब दिन सोही समूहका युवाहरुसमेत लागिरहेका छन् ।

जीतका लागि मिल्नुको विकल्प नभएको भन्दै युवाहरु मंगलबार विहानैदेखि चाक्सीबारीस्थित सिंह निवासमा प्लेकार्डसहित दबाब दिइरहेका छन् ।

प्रतिक्रिया