एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, मनोनयनमा पर्दै यी नेताहरू

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य नबनेका नेताहरूलाई केन्द्रीय कमिटीको पहिलो बैठकबाट मनोनयन गर्ने कार्यसूची तय भएको छ । केन्द्रीय सदस्य मनोनयनसम्बन्धी तेस्रो कार्यसूची रहेकाले यही बैठकबाट १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन हुने सम्भावना रहेको हो ।
तीन सय एक केन्द्रीय सदस्यको १० प्रतिशत नेतालाई मनोनयन गर्ने विधानमा उल्लेख भए बमोजिम त्यसको तयारी गरेको हो । १० औँ महाधिवेशनमा सर्वसम्मत बनाउन धेरै नेताहरुलाई रोकेर राखेको र उनीहरुलाई १० प्रतिशत मनोनयन गर्ने प्राबधानअन्र्तगत समेटिने आश्वासन दिएकाले अहिलेको बैठकबाट उनीहरुलाई केन्द्रीय सदस्य बनाउन लागिएको हो ।
‘कार्य सूचीमा राखिएको छ अहिले नै मनोनयन नहुन पनि सक्छ हुन पनि सक्छ त्यसको गृहकार्य हुँदै छ’, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने । चितवनमा भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २५ र २६ गते हुने केन्द्रीय कमिटीको बैठकले १० प्रतिशत सदस्यलाई मनोनयन गर्ने बताएका थिए ।
सोहीअनुसार आगामी केन्द्रीय कमिटी बैठकबाट छुटेका नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी भएको गरिएको हो । एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ, बुद्धिकुमार राजभण्डारी, कृपाशुर शेर्पा, दीपक भट्टलगायतका धेरै नेताहरू केन्द्रीय सदस्यमा छुटेका थिए ।
संसदीय दलका सचेतक रहेका भट्टराईलाई प्रदेश १ को अध्यक्ष बनाउने आश्वसन दिइएको छ । तर, प्रदेशको अध्यक्षमा नरेश खरेल, भाष्कर काफ्ले लगायतको दाबी छ । उनीहरु पनि केन्द्रीय सदस्य हुनबाट बञ्चित रहेका छन् । भट्टराई प्रदेश १ को अध्यक्ष बनाउने तयारी भए पनि अन्य नेताको हकमा केन्द्रीय सदस्यमै व्यवस्थापन गर्नु पर्ने अवस्था आएको छ ।
एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रहेका राजभण्डारी सोलुका चर्चित नेता हुन् । पाँचवटा महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि भए पनि केन्द्रीय सदस्य हुनबाट उनी बञ्चित हुँदै आएकोमा यसपटक दाबी गरेका थिए । सोलुखुम्बूबाट कोही पनि केन्द्रीय सदस्य नभएकाले यसपटकको मनोनयनमा राजभण्डारी केन्द्रीय सदस्य बन्ने सम्भावना रहेको छ ।
नेपाली कांग्रेसका नेता बलबहादुर केसीसँग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र नेता भएकाले पनि उनलाई यसपटक पार्टी केन्द्रले न्याय गर्ने बताइएको छ । शिव गुरुङ हालका सचिव योगेश भट्टराईका समकालीन हुन् । लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेनन् । गुरुङ यसअघि नवौँ महाधिवेशनमा ३ मतले पराजित भएका थिए ।यसअघि नै मनोनयन गर्ने तयारी भएपनि गुटको कोपभाजनमा परेका गुरुङलाई यसपटक मनोनयन गर्ने स्रोतको दाबी छ ।
काठमाडौंका प्रभावशाली नेता सुरेन्द्र मानन्धर यसअघिकै केन्द्रीय सदस्य हुन् । उनलाई पनि १० प्रतिशत मनोनयन गर्ने नाममा थामथुम पारिएको थियो । चितवनमै असन्तुष्टि जनाएका मानन्धरलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मनाएकी थिइन् । जनजाति कोटाबाट यसपटक राजभण्डारी र गुरुङको सम्भावना रहेको छ भने मानन्धरलाई पनि विशेष कोटामा मनोनयन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन् । विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी भएको छ । पर्वतका विकास लम्साल, पदम गिरीमध्ये एक जना प्रदेश अध्यक्ष र एकलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । गिरीले यसपटक केन्द्रीय सदस्य बन्ने चाहाना राखेका भए पनि उनलाई सहमतिको नाममा पन्छाइएको थियो ।
धनञ्जय दुवाडी पनि छुटेका नेतामध्ये एक हुन् । झापाका नरेश खरेललाई पनि ओलीले समेट्न सक्ने सम्भावना रहेको छ । ओलीसँगै जेल बसेका सहयात्री भएका कारण खरेललाई समेट्नु पर्ने दबाबमा ओली रहेका छन् ।
स्याङ्जाका नारायण मरासिनी, प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि मनोनयनको सूचीमा रहेका छन् । यद्यपि उनीहरूको हकमा पार्टीले केन्द्रीय सदस्य बराबरकै अर्को जिम्मेवारी दिने सम्भावना पनि छ । विष्टलाई प्रचार विभागको सचिव बनाइएको छ ।
विद्यार्थी आन्दोलनका चर्चित नेता टेकराज पछाईलाई यसपटक केन्द्रीय सदस्य बनाउने तयारी भएको छ । माधव नेपाललाई छाडेर बसेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य पनि केन्द्रीय सदस्य मनोनयको सूचीमा रहेको स्रोतले जनाएको छ ।
प्रदेश २ बाट बिल्टु यादव र शम्भुप्रसाद गुप्तालाई पनि समेट्नु पर्ने अवस्था आएको एमाले नेताहरूले बताएका छन । पिछडिएको क्षेत्रबाट भरत साउद र लालबहादुर रावललाई समेट्नु पर्ने बाध्यता छ । माक्र्सवादीबाट एमालेमा आएका धर्मराज निरौला पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नु पर्नेमा एमाले नेताको जोड छ । रामवीर मानन्धर पनि केन्द्रीय सदस्यमा नआएका कारण उनले पनि मनोनयनका लागि लविङ गरिरहेका छन् ।
पार्टी अध्यक्षमा चुनाव लडेर पराजित भएका भीम रावललाई मनोनयन गरेर स्थायी कमिटीमा लैजान ओलीलाई दबाब छ । रावलले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्यको सपथ लिन अस्वीकार गरेका थिए । तर, उनले केन्द्रीय सदस्यमा मनोनयन गरेमा स्वीकार गर्ने नगर्ने विषयमा भने केही बताएका छैनन् ।
रावलले अछाम पुगेर नेता कार्यकर्तामाझ हार जित हुन्छ भन्दै आफू जहाँ छु त्यहाँ अटल रहेर बस्ने बताएका थिए । ओलीले रावललाई केन्द्रीय सदस्यमा मनोनयन गरेर स्थायी कमिटीमा लैजाने स्रोतको दाबी छ ।










जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया