एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, मनोनयनमा पर्दै यी नेताहरू

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य नबनेका नेताहरूलाई केन्द्रीय कमिटीको पहिलो बैठकबाट मनोनयन गर्ने कार्यसूची तय भएको छ । केन्द्रीय सदस्य मनोनयनसम्बन्धी तेस्रो कार्यसूची रहेकाले यही बैठकबाट १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन हुने सम्भावना रहेको हो ।
तीन सय एक केन्द्रीय सदस्यको १० प्रतिशत नेतालाई मनोनयन गर्ने विधानमा उल्लेख भए बमोजिम त्यसको तयारी गरेको हो । १० औँ महाधिवेशनमा सर्वसम्मत बनाउन धेरै नेताहरुलाई रोकेर राखेको र उनीहरुलाई १० प्रतिशत मनोनयन गर्ने प्राबधानअन्र्तगत समेटिने आश्वासन दिएकाले अहिलेको बैठकबाट उनीहरुलाई केन्द्रीय सदस्य बनाउन लागिएको हो ।
‘कार्य सूचीमा राखिएको छ अहिले नै मनोनयन नहुन पनि सक्छ हुन पनि सक्छ त्यसको गृहकार्य हुँदै छ’, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने । चितवनमा भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २५ र २६ गते हुने केन्द्रीय कमिटीको बैठकले १० प्रतिशत सदस्यलाई मनोनयन गर्ने बताएका थिए ।
सोहीअनुसार आगामी केन्द्रीय कमिटी बैठकबाट छुटेका नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी भएको गरिएको हो । एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ, बुद्धिकुमार राजभण्डारी, कृपाशुर शेर्पा, दीपक भट्टलगायतका धेरै नेताहरू केन्द्रीय सदस्यमा छुटेका थिए ।
संसदीय दलका सचेतक रहेका भट्टराईलाई प्रदेश १ को अध्यक्ष बनाउने आश्वसन दिइएको छ । तर, प्रदेशको अध्यक्षमा नरेश खरेल, भाष्कर काफ्ले लगायतको दाबी छ । उनीहरु पनि केन्द्रीय सदस्य हुनबाट बञ्चित रहेका छन् । भट्टराई प्रदेश १ को अध्यक्ष बनाउने तयारी भए पनि अन्य नेताको हकमा केन्द्रीय सदस्यमै व्यवस्थापन गर्नु पर्ने अवस्था आएको छ ।
एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रहेका राजभण्डारी सोलुका चर्चित नेता हुन् । पाँचवटा महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि भए पनि केन्द्रीय सदस्य हुनबाट उनी बञ्चित हुँदै आएकोमा यसपटक दाबी गरेका थिए । सोलुखुम्बूबाट कोही पनि केन्द्रीय सदस्य नभएकाले यसपटकको मनोनयनमा राजभण्डारी केन्द्रीय सदस्य बन्ने सम्भावना रहेको छ ।
नेपाली कांग्रेसका नेता बलबहादुर केसीसँग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र नेता भएकाले पनि उनलाई यसपटक पार्टी केन्द्रले न्याय गर्ने बताइएको छ । शिव गुरुङ हालका सचिव योगेश भट्टराईका समकालीन हुन् । लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेनन् । गुरुङ यसअघि नवौँ महाधिवेशनमा ३ मतले पराजित भएका थिए ।यसअघि नै मनोनयन गर्ने तयारी भएपनि गुटको कोपभाजनमा परेका गुरुङलाई यसपटक मनोनयन गर्ने स्रोतको दाबी छ ।
काठमाडौंका प्रभावशाली नेता सुरेन्द्र मानन्धर यसअघिकै केन्द्रीय सदस्य हुन् । उनलाई पनि १० प्रतिशत मनोनयन गर्ने नाममा थामथुम पारिएको थियो । चितवनमै असन्तुष्टि जनाएका मानन्धरलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मनाएकी थिइन् । जनजाति कोटाबाट यसपटक राजभण्डारी र गुरुङको सम्भावना रहेको छ भने मानन्धरलाई पनि विशेष कोटामा मनोनयन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन् । विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी भएको छ । पर्वतका विकास लम्साल, पदम गिरीमध्ये एक जना प्रदेश अध्यक्ष र एकलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । गिरीले यसपटक केन्द्रीय सदस्य बन्ने चाहाना राखेका भए पनि उनलाई सहमतिको नाममा पन्छाइएको थियो ।
धनञ्जय दुवाडी पनि छुटेका नेतामध्ये एक हुन् । झापाका नरेश खरेललाई पनि ओलीले समेट्न सक्ने सम्भावना रहेको छ । ओलीसँगै जेल बसेका सहयात्री भएका कारण खरेललाई समेट्नु पर्ने दबाबमा ओली रहेका छन् ।
स्याङ्जाका नारायण मरासिनी, प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि मनोनयनको सूचीमा रहेका छन् । यद्यपि उनीहरूको हकमा पार्टीले केन्द्रीय सदस्य बराबरकै अर्को जिम्मेवारी दिने सम्भावना पनि छ । विष्टलाई प्रचार विभागको सचिव बनाइएको छ ।
विद्यार्थी आन्दोलनका चर्चित नेता टेकराज पछाईलाई यसपटक केन्द्रीय सदस्य बनाउने तयारी भएको छ । माधव नेपाललाई छाडेर बसेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य पनि केन्द्रीय सदस्य मनोनयको सूचीमा रहेको स्रोतले जनाएको छ ।
प्रदेश २ बाट बिल्टु यादव र शम्भुप्रसाद गुप्तालाई पनि समेट्नु पर्ने अवस्था आएको एमाले नेताहरूले बताएका छन । पिछडिएको क्षेत्रबाट भरत साउद र लालबहादुर रावललाई समेट्नु पर्ने बाध्यता छ । माक्र्सवादीबाट एमालेमा आएका धर्मराज निरौला पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नु पर्नेमा एमाले नेताको जोड छ । रामवीर मानन्धर पनि केन्द्रीय सदस्यमा नआएका कारण उनले पनि मनोनयनका लागि लविङ गरिरहेका छन् ।
पार्टी अध्यक्षमा चुनाव लडेर पराजित भएका भीम रावललाई मनोनयन गरेर स्थायी कमिटीमा लैजान ओलीलाई दबाब छ । रावलले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्यको सपथ लिन अस्वीकार गरेका थिए । तर, उनले केन्द्रीय सदस्यमा मनोनयन गरेमा स्वीकार गर्ने नगर्ने विषयमा भने केही बताएका छैनन् ।
रावलले अछाम पुगेर नेता कार्यकर्तामाझ हार जित हुन्छ भन्दै आफू जहाँ छु त्यहाँ अटल रहेर बस्ने बताएका थिए । ओलीले रावललाई केन्द्रीय सदस्यमा मनोनयन गरेर स्थायी कमिटीमा लैजाने स्रोतको दाबी छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया