आइतबार, पुष ६, २०८२

कांग्रेस महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश

मेरोन्यूज २०७८ मंसिर २४ गते २२:०१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार बेलुकाबाट बन्दसत्र शुरु भएको छ ।

शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र बेलुका भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र शुरु भए पनि नेताहरु भने विभिन्न गुट उपगुट तथा आ–आफ्नै छलफलमा ब्यस्त छन् ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थियो ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष यादवले बन्दसत्रमा पेश गरेको आर्थिक प्रतिवेदनमा पार्टीको आम्दानी बढेको देखिएको छ भने खर्च कम रहेको छ ।

उक्त प्रतिवदेनअनुसार पार्टीले ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेको उल्लेख छ ।

दस्तुर र नवीकरणबाट मात्रै ९ करोड २४ लाख ९४ हजार ९९४ प्राप्त भएको छ ।
चन्दा, सहयोगहरुबाट भने १ करोड ३ लाख ४१ हजार ६५८ रुपैयाँ आम्दानी देखाइएको छ ।

पार्टीले कर्मचारी खर्च र साधारण तथा प्रशासनिक खर्च बापत ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो चौमासिक अवधि २०७८ कार्तिक मसान्तसम्मको अवधिमा पार्टीले ४ करोड ४९ लाख आय आर्जन गरेको र २ करोड ४८ लाख खर्च हुँदा २ करोड ११ लाख बचत भएको छ ।

विभिन्न वाणिज्य बैंकहरुमा गरी १ वर्षे मुद्दतिमा १० करोड तथा वचत चल्ति खातामा २ करोड जम्मा भएको जनाइएको छ ।

प्रतिक्रिया