मंगलबार, वैशाख ९, २०८२

एसीसी यू–१९ एसिया कप खेलका लागि नेपालको तयारी

मेरोन्यूज २०७८ मंसिर २९ गते १७:३५

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा खेलाडीले तयारीलाई तिब्रता दिइरहेको छ ।

उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो राष्ट्रको परिचय पाएको नेपालले प्रतियोगितामा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपपछिकै ठूलो प्रतियोगिता रुपमा हेरिने एसियाकपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा तयारीलाई तीब्रता दिइरहेको छ ।

कुनै उमेर समूहका खेलमा बलियो राष्ट्रको परिचय बनाएको नेपालले एक सातापछि युनाइटेड अरब इमिरेट्स (युएई) मा एसीसी यु–१९ एसिया कप खेल्दै छ ।

कोरोना महामारीका कारण तय भएका केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्ष पछि अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो । एशियाकपमा टेस्ट मान्यता राष्ट्र बंगालदेश, श्रीलंका र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

सोही कारण एसियाकपलाई विश्वकपपछि कै ठूलो प्रतियोगिता रुपमा हेरिने गरेको छ । भरखरै सम्पन्न वाईवाई यु–१९ प्रतियोगिताबाट छनोट भएका युवा खेलाडीले तयारीलाई उपलब्धिमुलक बनाउने लक्ष्यका साथ अभ्यासलाई तीब्रता दिइरहेका हुन् ।

नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका प्रशिक्षक बसन्त शाही ठकुरीले छोटो समयको तयारीलाई उपलब्धिमुलक बनाउने लक्ष्यका साथ खेलाडीले मिहिनेत गरिरहेको र सेमिफाइनलसम्म लक्ष्य भएको बताए ।

हालै सम्पन्न वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टोलीमा अटाएका खेलाडीहरुले कम्तिमा पनि ६ खेल खेल्न पाएका कारण तयारीमा सहयोग पुगेको शाहीले औल्याएका छन् ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताले युवा खेलाडीलाई खेल सुधारका लागि निकै सहयोग पुगेको भन्दै प्रशिक्षक शाहीले युवा खेलाडीहरु रहेका कारण टिम सन्तुलित रहेको र बलियो राष्ट्रसँग राम्रो चुनौति दिनेमा आशावादी छन् ।

मुख्य प्रशिक्षक शाहीले यू–१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडीहरु टिम समेटिएको भन्दै ब्याटिङ पक्षमा कमजोरी नभएको बताए । तर खेलाडीको फिटनेश र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् । त्यसका लागि केही दिन बाँकी रहेको भन्दै प्रतियोगिताको मितिसम्म सुधार हुने शाहीले अपेक्षा राखेका छन् ।

प्रतियोगितामा सहभागि हुने नेपाली टोलीका लागि बलिया राष्ट्रका खेल्नु एउटा अवसरको रुपमा हेरिएको छ । समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट राष्ट्रहरु जस्तै भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीका प्रभाशाली खेलाडी देव खनाल पनि प्रशिक्षकले भने जस्तै अहिलेको टोलीमा दुबै ब्याटिङ र बलिङ पक्षमा सबल भएको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी छन् ।

हालै सम्पन्न वाईवाई यु–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देव खनालले ब्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताले राम्रो गर्न हौसला मिलेको बताए ।

अर्का खेलाडी शेर मल्लले घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय खेलमा पनि निरन्तरता दिँदै टोलीलाई सुखद नतिजा दिलाउन सहयोग गर्ने बताए । वर्षाका कारण विश्वकप छनोट खेल गुमाएको पिडालाई भुलाउ लक्ष्य र आईसीसीलाई दाबेदार टोली गुमाउन परेको सन्देश दिन चाहेको बताए ।

डिसेम्बर २३ बाट युएईमा हुने प्रतियोगितामा ८ टोली एक दिवसीय संरचनामा प्रतिस्पर्धा गर्नेछन् । आयोजकले सहभागि टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छन् । जस अन्र्तगत नेपाल समूह बीमा रहेको छ ।

समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध डिसेम्बर २३ युनाईटेड अरब इमिरेट्सको शारजाहमा खेल्नेछ दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।

यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ र फाइनल खेल जनवरी १ मा हुनेछ ।

प्रतिक्रिया