माओवादीले किन चुन्न सकिरहेको छैन प्रदेश पदाधिकारी ?
माओवादीमा प्रतिस्पर्धा रोक्न सर्वसम्मतको प्रयास गर्दा प्रदेश कमिटिका पदाधिकारी चयनमै लफडा निम्तेको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पहिलो पटक पार्टीको आन्तरिक जीवनमा सम्मेलनमार्फत कमिटि चयन गर्ने प्रयास गरेपनि कमिटिका पदाधिकारी चयनमा भने सकस ब्यहोरिरहेको छ । सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनोट प्रयास गरेपछि माओवादी केन्द्रले पार्टीको प्रदेश संरचना देखि जनवर्गीय संगठनमा समेत पदाधिकारी चयन गर्न असफल भईरहेको छ ।
उसले भूगोलका ७ र गैह भूगोलका ३ मध्ये २ मा प्रदेश सम्मेलन गरेको छ । जसमध्ये उपत्यका विशेष प्रदेश कमिटिमा बाहेक अन्यत्र पदाधिकारी छान्ने सकेको छैन । वल्लतल्ल केहीमा भने अध्यक्ष भने चयन गरेको छ । अन्य पदाधिकारी छान्न उसले अझै सकेको छैन ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत शनिबार सबै प्रदेश सम्मेलनको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गरेका थिए । त्यसपछिको बन्दशत्रले पदाधिकारी चयनमा सकस ब्इहोरेपछि कमिटि मात्र घोषणा गरेर सम्पन्न भएका छन् ।
माओवादीले सम्मेलनको वन्दशत्रवाट कमिटि घोषणा गर्ने र कमिटिमार्फत पदाधिकारी चयन गर्ने विधि अवलम्वन गरेको छ । सहज रुपमा सर्वसम्मत पदाधिकारी चयन भएमा भने सम्मेलनहलवाटै पदाधिकारी र सदस्यहरु चयन गर्ने निर्णय माओवादीले गदै आएको छ ।
आन्तरिक चुनावी प्रतिस्पर्धालाई रोकेर जनवादी केन्द्रीयताका नाममा माओवादीले सर्वसम्मत नेतृत्व चयनमा दवाव वर्ढापछि असन्तुष्टि पनि चुलिएको छ । जसले गर्दा नेतृत्वका आकाक्षीहरुभित्रै असन्तुष्टि झाँगिदो छ ।
प्रदेशको नेतृत्वका लागि केन्द्रीय समितिमै रहेका कतिपय नेताहरुले भूगोल हेरेर दावी नछोडेपछि र आकाक्षी बढेपछि माओवादी केन्द्रले पछिल्लो पटक केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने निर्णय स्थायी समिति बैठकबाट लिएको थियो ।
कुन प्रदेशमा भएको छ के ?
प्रदेश १
माओवादीको प्रदेश १ को कमिटि मात्र गठन भएको छ । अध्यक्षका आकांक्षी बढेपछि माओवादीले वन्दशत्रवाट कमिटि मात्र टुग्गो लगाएर कमिटिलाई नै पदाधिकारी चयनको जिम्मा लगाएको थियो ।
त्यसपछि प्रदेश कमिटिको बैठक वुधबार वसेको थियो । तर पनि सहमति जुटन नसकेपछि अव कार्यदल स्तरले गृहकार्य गरेर पदाधिकारीको नयाँ प्रस्ताव पुस ७ मा प्रदेश कमिटिको बैठक बस्ने र त्यसैमा ल्याउने प्रस्ताव गरिएको छ ।

अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको वुधबारको बैठकमा अध्यक्षको दौड छोडेपछि नेतृत्वका लागि थप आकाक्षी नेताहरु थपिएका छन् ।
नयाँ नेतृत्वमा अव पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँगीले अध्यक्षमा दाबी गरेका छन् ।
त्यसमा पनि सहमति नभएपछि प्रदेश १ का सहइन्चार्ज सावित्री कुमार काफ्लेले कार्यदल गठनको प्रस्ताव गरेका थिए । प्रदेश १ का अर्का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदल गठन गर्ने प्रस्ताव गर्दा प्रदेश कमिटि बैठकमा केही समय होहल्ला भएको थियो ।
उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा पदाधिकारी प्रस्ताव गर्ने जिम्मा पाएको छ। उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल गरेर निर्णय लिने गरी वुधबारको बैठक सकिएको थियो ।
प्रदेश २
प्रदेश २ मा भने वन्दशत्र नै चलेको छैन । गत शनिवार अध्यक्ष प्रचण्डले अन्य प्रदेशसँगै भचुअल माध्यमवाट सम्मेलनको उदघाटन गरेपनि बन्दशत्रका लागि पुस ३ को मिति तय गरिएको छ । प्रदेश २ का ३० वटा स्थानीय तहको सम्मेलन हुनै बाँकी रहेकोले शनिबार उद्घाटन सकेर बन्द सत्र बाकी राखिएको माओवादीले जनाएको छ ।
बागमती प्रदेश
काठमाडौं उपत्यका सहित रहेको बागमती प्रदेशमा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । नेतृत्वलाई पदाधिकारी चयन गर्न महाभारत परेको छ ।
प्रदेश सम्मेलनबाट बागमतीमा प्रदेश सदस्यहरुको मात्र टंगो लगाइएको छ । तर पदाधिकारी टुंगो लगाउन माओवादीले सकेको छैन । प्रदेश सदस्यहरुको बैठकबाट पदाधिकारी टुंगो लगाउने गरी क्रिष्टल पार्टी प्यालेसमा बोलाइएको बैठक अन्तिम समयमा अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
प्रदेशको अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री, भक्तपुरका डिपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, काभ्रेकै दिनानाथ गौतम ‘प्रयास’ र दोलखाका विशाल खड्का र सिन्धुलीका विदुर खड्का, नुवाकोटका हिरानाथ खतिवडा दाबेदार छन् । त्यसमध्ये पनि सहयात्री र ढकाल मुख्य प्रतिस्पर्धी हुन् । सहमति नजुटेमा नुवाकोटका खतिवडाले आफुलाई पनि प्रतिस्पर्धी रहेको जनाउ नेताहरुले दिएका छन् । उनीहरुमा सहमति जुटाउन नेतृत्व असफल भएपछि सहमतिका लागि भन्दै वैठक नै अनिश्चितकालका लागि रोकिएको छ ।
गण्डकी प्रदेश
माओवादीले गण्डकी प्रदेशमा पनि पदाधिकारी चयन गर्न सकेको छैन । त्यहाँ अध्यक्ष र कमिटि गठन गरेपनि अन्य पदाधिकारी चयन गर्न माओवादी असफल भएको हो । माओवादी केन्द्रको पहिलो गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चुनिएकी छन् ।

गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुन् । अन्य पदाधिकारी उसले चयन गर्न सकेको छैन । २ सय २९ सदस्यीय समितिमा २ सय १ सदस्य छनोट गरिएको छ । अर्काे प्रदेश कमिटि बैठकवाट अन्य पदाधिकारी चयन गर्ने बताईएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनीमा पनि माओवादीले प्रदेश कमिटि मात्र चयन गरेको छ । लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा शनिबार र आइतवार भएको प्रदेश सम्मेलनबाट कमिटि मात्र चयन गरेको हो ।

लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दिपेन्द्र पुन ‘सिजल’, प्रदेश कार्यालय सचिव तथा पूर्वमन्त्री सुदर्शन बराल, राष्ट्रिय सभा सदस्य, अहिलेका सचिव जगप्रसाद शर्मा ‘अपार’ लगायत नेता दौडमा छन् । आकाक्षी नेताबाट ब्यवस्थापन गर्न सकस परेपछि पदाधिकारी माओवादीले छानेको छैन ।
कर्णालीमा पनि उस्तै
कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएका छन् । वुधबार केसीलाई अध्यक्ष चयन गर्ने काम नेकपा –माओवादी केन्द्र)को कर्णाली प्रदेश कमिटिले चयन गरेको हो ।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष केसी रूकुम पश्चिमबाट प्रदेश सभा सदस्य हुन्।

कर्णाली प्रदेश अधिवेशनले प्रदेश समितिका अन्य पदाधिकारी भने चयन गर्न बाँकी छ। प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । तर अन्य पदाधिकारी भने अझै टुंगो लागेको छैन, अर्को बैठकले टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सुदुरपश्चिम प्रदेश
प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ । घोषित प्रदेश सदस्यमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्षसहितका नौ पदाधिकारी चयन गरिन बाँकी नै छ ।
“प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेर अधिवेशन लम्बिएको छ ।
तर नेताहरुले समावेशी प्रतिनिधि र क्लष्टर मिलाउनु परेको जस्ता प्रक्रिया अपनाउनु पर्दा लम्बिएको जिकिर गरेका छन् ।
प्रदेश अध्यक्षमा निवर्तमान अध्यक्ष भण्डारी, नरेन्द्र कुवँर, मानबहादुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरी चौधरी, हरि ज्ञवालीलगायत नेता आकांक्षी रहेका छन् ।
उपत्यका विशेष प्रदेशमा भने टुग्गियो

उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन्। उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे,
सचिवमा सुरेन्द्र बस्नेत तथा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन् ।
यो प्रदेशमा १ सय ४१ सदस्यीय प्रदेश कमिटीसमेत चयन भएको छ । यो कमिटिको वुधबार पहिलो वैठक समेत वसिसकेको छ ।
समन्वय विशेष प्रदेश
७७ ओटै जिल्लाको सम्र्पक मञ्चलाई समेटेर बनाइएको गैह भौगोलिक प्रदेश सम्पर्क समन्वय प्रदेशको कमिटि गठन भएको छ । कमिटिले अध्यक्ष पनि चयन गरेको छ । अध्यक्षमा श्रीकृष्ण अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन्। तर अन्य पदाधिकारी चयन गर्न यो प्रदेशलाई पनि सकस परेको छ ।

अधिकारीको नेतृत्वमा १ सय ७५ सदस्यीय प्रदेश कमिटी बनेको छ ।
प्रतिक्रिया