वैदेशिक रोजगारीले रित्तिदै गाउँ

काठमाडौँ । २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस हो, आज । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ ।
आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ । यसको एउटा उदाहरणका रुपमा बागलुङलाई लिन सकिन्छ ।
एक साताअघि बागलुङ नगरपालिकाले खहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन गर्यो । बागलुङ नगरपालिका ३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो ।
स्थानीय सरकार गठनपछि घर छेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह । आफैले जिताएका नगरप्रमुख र वडाध्यक्ष । स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जो कोहीको इच्छा थियो ‘कार्यक्रममा पुगौँ ।’
भयो पनि त्यस्तै । भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे तर त्यहाँ युवा देखिएनन् । खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवा पनि विदेश पलायन भइसकेका थिए । केही युवा सहर पसेका ।
विद्यालय र खेल मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवालाई त सम्झे तर उनका कुरा सुन्ने वृद्ध, वयस्क र बालबालिका मात्रै थिए । कि त ४० वर्ष उमेर कटेका थिए । कि वृद्ध र कि त सानो कक्षामा पढ्ने बालबालिका । सरकारी जागिरेबाहेक युवा कार्यक्रममा देखिएनन् ।
देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगारमूलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैनन् । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किंदैन ।
त्यसैले गाउँ रित्तिएका छन् । वृद्ध र बालबालिकाले मात्रै गाउँ धानेका छन् । गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म । भेला, बैठक हुन वा विकासे काम, आजभोलि युवाको सहभागिता निकै कम छ । विदेशिने प्रचलन निकै बढेकाले गाउँमा युवा देख्न कठिन हुन थालेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् ।
“गाउँ युवाविहीन भएका छन्”, रेग्मीले भने, “उत्पादनशील जनशक्तिको अभाव हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम विकिरहेको छ ।”
आप्रवासनले विप्रेषण भित्र्याएको भए पनि नेपाली समाजमा गहिरो गरी सामाजिक पुँजीको नाश भइरहेको वैदेशिक रोजगार बोर्डको ठम्याइ छ । अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाले अनाहकमा ज्यान गुमाइरहेका छन् । “तथ्यांक हेर्दा कहाली लाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको संख्या हेर्दा उदेक लाग्दो छ”, रेग्मी भने, “स्वरोजगारीलाई जोड दिनु आवश्यक छ ।”
बोर्डको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए । कोभिड–१९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाहरूको त तथ्यांक छैन ।
पाँच जना युवा अंगभंग भएर फर्किएका छन् । उनीहरुको काम गरेर खान सक्ने अवस्था छैन । “आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो”, सामाजिक संस्था बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भने, “एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरि जानु मलाई त्यही चकलेट, ट्याब, नाना र सामान ल्याइदिनु ।”
आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमूलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर आप्रवासनका कारण भइरहेको आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण आवश्यक छ ।
















दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया