बुधबार, पुष २, २०८२

नेतालाई जति ठूलो माला, त्यति ठूलो सम्मान !

ओलीले १५० किलोको माला लगाए, लिङदेनले अस्वीकार गरे

मेरोन्यूज २०७८ पुष ९ गते ९:२७

काठमाडौं । राजनीतिक दलका नेताहरुलाई जिल्लामा जाँदा ठूलो परिमाणको माला पहिराइदिएर स्वागत सत्कार गर्दा सम्मान बढ्ने कार्यकर्ताको बुझाइ छ ।

अमुक एउटा पार्टी मात्र होइन, सबै जसो दलका कार्यकर्ताहरुलाई पार्टीका शीर्ष तहका नेता जिल्ला आउँदा एकदमै ठूलो माला लगाइदिन पाए, धेरै सम्मान हुने बुझाइ छ । ठूलो माला लगाउन पाएपछि नेताहरु त झनै गमक्क पर्छन् ।

नेताले मालाको बोझसमेत थाम्न नसक्ने गरी पहिराइदिएको मालाको चर्चा मिडियाले नै गर्ने गरेको छ । कुनै पनि कार्यक्रममा आउने प्रमुख अतिथिलाई सम्मान गर्ने तरिका आ–आफ्नै हुन्छ । बेलाबखत विवाहको बेहुलालाई जस्तै गरी रातो कपडाले बेरिएको पिर्का राखेर पनि मन्त्रीदेखि सांसदसमेतलाई सम्मान गर्ने गरेको पाइन्छ ।

आयोजकले आफ्नै किसिमले गरेको सम्मानलाई अतिथिले अस्वीकार गर्ने पनि आँट गर्दैनन् । तर यसरी गरिएको सम्मानलाई लिएर सामाजिक सञ्जालहरुमा पनि निकै आलोचना हुने गरेको छ ।

नेतालाई थाम्नै नसक्ने भारीदेखि पिर्के महाराज भनेर सामाजिक सञ्जालहरुमा निकै आलोचना हुने गरेको छ ।

विहीबार मात्रै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्सामा बोक्नै नसक्ने १५० किलोका माला पहिराइदिए । पर्साको जगरनाथपुर गाउँपालिका पुग्दा उनलाई त्यति ठूलो माला पहिराइदिएर कार्यकर्ताले ठूलै सम्मान गरेको महशुस गरे ।

हेलिकप्टर चढेर जगरनाथपुर पुगेका ओलीलाई चार पाँच जना कार्यकर्ताले बल्लतल्ल उचालेर माला पहिराइदिए । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीलाई नेकपा एमालेमा प्रवेश गराउन ओली त्यहाँ पुगेका थिए ।

मियाँले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

पर्सामा ओलीले १५० किलोको माला लगाएर गमक्क परिरहँदा विहीबार नै दाङको तुलसीपुर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि राप्रपा कार्यकर्ताले त्यस्तै ठूलो माला पहिराइदिएर स्वागत गर्न खोेजे ।

तुलसीपुरको बिपी चोकमा सडकमै बनाइएको मञ्चमा उपस्थित लिङदेनले भने कार्यकर्ताको स्वागतलाई सहज रुपमा लिएनन् । लिङदेनका लागि तयार गरेको २५ किलोको माला अस्वीकार गरे ।

मञ्चमा राप्रपाका उपाध्यक्ष धूर्ब प्रधानदेखि महामन्त्री धवल शम्शेर राणा लगायतका नेताहरु बसेका थिए । लिङदेनले माला लगाउन अस्वीकार गरेपछि खादा ओढाएर स्वागत गरियो । कार्यक्रममा प्रमुख अतिथिले नै माला लगाउन अस्वीकार गरेपछि अन्य अतिथिहरुले पनि आफ्नो गलामा लगाएका माला फुकालेर बसेका थिए ।

प्रतिक्रिया