शुक्रबार, वैशाख ११, २०८३

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा ‘नेता श्रीमती’ क्लब

५ नेताका श्रीमति कांग्रेस केन्द्रीय समितिमा

मेरोन्यूज २०७८ पुष ९ गते १०:२७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीमा नेताका श्रीमती नेता नै हुने प्रचलन पुरानै थियो । एमालेका बामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोखरेल, अमृत बोहोराका श्रीमती नेता थिए । माओवादी केन्द्रमा जनयुद्ध कालमा कतिपय जोडी सँगै युद्धमा रहेका र कतिपयले युद्धमै विवाह गरेकाले दाम्पत्ति नै पार्टी केन्द्रीय कमिटीमा रहेको विषय नौलो होइन । यसरी नेपाली कांग्रेसका नेता पत्नीसमेत केन्द्रीय कमिटीमा आउन थालेका छन् ।

Advertisement
NiccNicc

केही समयअघि सकिएको कांग्रेसको १४ औँ महाधिवेशनबाट आएको नयाँ कार्य समितिमा नेताका ‘श्रीमती क्लब’ गठन गर्न पुग्ने महिला नेतृ पुगेका छन् । तीमध्ये दुई नेताका श्रीमान-श्रीमतीले केन्द्रीय समिति बैठकमा सहभागिता जनाउने भएका छन् । त्यसबाहेक तीन नेताका श्रीमती केन्द्रीय समितिमा पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा सभापति पदका लागि डा. शेखर कोइरालालाई पराजित गरे । उनकी श्रीमती डा. आरजु देउवा राणा खुल्ला महिलातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भइन् । २०७० मा समानुपातिकतर्फ सांसद बनेकी उनी २०७४ को निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भई पराजित भएकी थिइन् ।

त्यस्तै, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण खुल्ला ३५ केन्द्रीय सदस्यतर्फ तेस्रो सबैभन्दा बढी मत ल्याएर निर्वाचित भए । उनकी श्रीमती मञ्जु खाँण खस आर्य महिलातर्फ सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भइन् । उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको महासचिवसमेत हुन् ।

अन्य तीन नेताका श्रीमतीहरू समेत यस महाधिवेशनबाट सदस्यमा निर्वाचित भएका छन् । शिला शर्मा खड्का, कान्तिका सेजुवाल र चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनीहरूका श्रीमान भने स्वर्गीय भइसकेका छन् । श्रीमानले पार्टीमा गरेको योगदानका आधारमा उनीहरु केन्द्रीय समितिमा पुगेका हुन् ।

लुम्बिनी प्रदेशबाट महिला सदस्यका रुपमा केन्द्रीय सदस्य निर्वाचित शिला कांग्रेसका स्वर्गीय प्रभावशाली नेता खुमबहादुर खड्काकी श्रीमती हुन् । शिला अघिल्लो कार्य समितिमा पनि मनोनित केन्द्रीय सदस्य थिइन् ।


खस आर्य महिला कोटामा केन्द्रीय सदस्यमा निर्वाचित कान्तिका र चम्पादेवी दुवै स्वर्गीय कांग्रेस नेताका श्रीमती हुन् । कान्तिकाका श्रीमान् मानव कांग्रेसको जुम्ला सभापति थिए । उनको जहाज दुर्घटनामा निधन भएको थियो । श्रीमान् राजनीतिमा हुँदासम्म शिक्षक रहेकी कान्तिका २०७४ मा भएको स्थानीय तह निर्वाचनमा जुम्ला नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएकी थिइन् । बहालवाला नगर प्रमुख कान्तिका अहिले खस आर्य महिलातर्फ उम्मेदवार हुँदै निर्वाचित भएकी हुन् ।

त्यस्तै, चम्पादेवी पनि श्रीमानको गाडी दुर्घटनामा निधन भएपछि राजनीतिमा आएकी हुन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा बागलुङमा प्रत्यक्षतर्फ निर्वाचन जितेका हरि खड्काको गाडी दुर्घटनामा निधन भएपछि चम्पादेवीलाई उपनिर्वाचनमा कांग्रेसले उम्मेदवार बनायो ।

त्यो उपनिर्वाचन जितेपछि उनी राजनीतिमा आएकी हुन् । चम्पादेवी पूर्व राज्यमन्त्रीसमेत हुन् । उनी गरिबी निवारण राज्यमन्त्री भएकी थिइन् । अहिले संस्थापन प्यानलबाट खस आर्य महिलातर्फ केन्द्रीय समितिमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया