शनिबार, पुष १२, २०८२

युवा क्लबको अभियान ‘ग्रीन निसर्दी, क्लीन निसर्दी’

मेरोन्यूज २०७८ पुष १० गते १०:०३

पाल्पा । रामपुर नगरपालिका–८ स्थित निसर्दी युवा क्लबले बजार विस्तारसँगै सवारी साधनको चाप बढ्दै गएपछि ‘ग्रीन निसर्दी, क्लीन निसर्दी’ अभियान सुरु गरेको छ । कालीगण्डकी करिडोर सडकखण्डमा अहिले सवारी साधनको चाप बढ्दै जान थालेपछि युवाक्लब नयाँ अभियानमा जुटेको छ ।

निसर्दी गाउँको बीचबाट पूर्वपश्चिम भएर कालीगण्डकी करिडोर सञ्चालित छ । यहाँ दैनिक सयभन्दा बढी सवारी साधन गुड्छन् ।

करिडोर सडकखण्डमा सवारी साधनको चाप बढ्दै जान थालेपछि सडकमा फोहर र दुर्गन्ध फैलने भएकाले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने मनसायले गाउँ टोल सरसफाइ अभियानलाई जोड दिएको क्लबका अध्यक्ष प्रशान्त डोटेलले बताए ।

उनले भने, ‘आफ्नो गाउँ आफैँ बनाउने हो, गाउँघर सफा बनाउन सकियो भने स्वस्थ र निरोगी भइन्छ, हामी युवा मिलेर नयाँ अभियानमा लागेका छौँ ।’ निसर्दी टोललाई सफा र हरियाली बनाउन नियमित सरसफाइ कार्यक्रम गर्ने अध्यक्ष डोटेल बताउँछन् । क्लबले आगामी वर्षायामको समयमा वृक्षरोपण कार्यक्रम गर्ने जनाएको छ ।

करिडोरका दायाँबायाँ गाउँलाई समेट्ने गरी सात वटा फोहर संकलनका लागि डस्बीन राखिएको छ । क्लबले गाउँका खहरेखोला र निसर्दीघाट पुलमा स्वागतद्वार राखेको छ । विशेषगरी जिल्लाको व्यापारिक केन्द्र रामपुर पुग्ने र स्याङ्जाको दक्षिण र तनहुँको दक्षिण पश्चिम क्षेत्रबाट बुटवल, तानसेन जाने–आउने यही बाटो हो ।

प्रतिक्रिया