माओवादीको राष्ट्रिय सम्मेलनमा सुरक्षा रणनीति फेरियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन भएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको हो ।
यस्तै, मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन हुने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
आज अपराह्न हुने महाधिवेशन उद्घाटनलाई बढी केन्द्रित गरिएको छ । सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ । “थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ, महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौँ”, परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने ।
भीडभाड कम हुने गरी ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ । अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले बताए । राष्ट्रिय सम्मेलनमा अतिथि नआउने आफ्नै पार्टीका नेताहरु मात्रै सहभागी हुने भन्ने थियो, तर महाधिवेशनमा परिणत भएपछि अतितिहरूलाई समेत बोलाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरु आउने भएकाले सुरक्षाको मोडाडिटी परिवर्तन गरिएको महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी वरिष्ठ उपरीक्षकले कमाण्ड पोष्टबाटै अनुगमन गर्ने छन् ।
माओवादीको राष्ट्रिय सम्मेलन बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । तर, महाधिवेशनको रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी ३ बजे पुर्याइएको छ । उद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महाधिवेशनमा झण्डै चार हजारदेखि पाँच हजार मानिस उपस्थित हुने अनुमान छ । प्रतिनिधि एक हजार ५३३ र अन्य स्वःस्फूर्त आउने कार्यकर्तालाई पनि रोकावट नभएकाले उनीहरु पनि सहभागी हुन पाउने छन् ।
महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केहीबेरमा थप गरिने प्रहरीले जनाएको छ । विशेषगरी सम्मेलनस्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया