शनिबार, पुष १२, २०८२

प्रचण्डको दस्तावेज

सेना समायोजन गरेर गल्ती गरेको प्रचण्डको स्वीकार

कांग्रेस–कम्युनिस्टबीच संयुक्त मोर्चा बनाउने कार्यदिशा

मेरोन्यूज २०७८ पुष १२ गते १८:५०


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजना गरेर गल्ती गरेको स्वीकार गरेका छन् ।

सेना समायोजनकाबेला केन्द्रीय समितिको म्याण्डेटसमेत नलिएर आफूले गल्ती गरेको प्रचण्डले पार्टीको काठमाडौंमा जारी आठौं महाधिवेशनमा पेश गरेको राजनीतिक दस्तावेजमा उल्लेख गरेका छन् ।

विगतका आफ्ना सहयात्री नेताहरुले सेना समायोजनबारे आलोचना गर्दै आइरहेकाबेला प्रचण्डले आफ्नो दस्तावेजमा समायोजनबारे गल्ती स्वीकार गरेका छन् । उनले आफूले ब्यवसायिक डिल गरेजस्तो गरी समायोजनामा आफूले खेलेको भूमिकाको आत्मालोचना गरेका छन् ।

‘सेना समायोजनकाबेला पार्टीमा छलफल नै नगरी केन्द्रीय समितिको म्याण्डेटसमेत नलिएर पर्सनल बिजनेस डिल जस्तो गरियो,’ प्रचण्डले दस्तावेजमा भनेका छन्, ‘पार्टीमा छलफल पनि नगरेर गल्ती भयो ।’

संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेजमा समान बिचार राख्ने बामपन्थी र लोकतन्त्रवादी शक्तिहरुबीच संयुक्त मोर्चाको कार्यदिशा अघि बढाउनुपर्ने उल्ल्ेख गरेका छन् ।

पार्टीको नाम नतोकिए पनि उनले दस्तावेजमा कांग्रेससहितको सयुक्त मोर्चाको प्रस्ताव अघि सारेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गम्भीर आलोचना गरिएको दस्तावेजमा संविधानको रक्षार्थ विशेष भूमिका खेल्नुपरेको उल्लेख गरिएको छ ।

प्रचण्डले नेपालको संविधानलाई विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीका रुपमा दस्तावेजमा उल्लेख गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा प्रचण्डले निर्वाचन उपयोग मात्रै भएको भन्दै पार्टी भित्र स्कुलिङ गरेका थिए । उक्त स्कुलिङ गरेर गल्ती गरेको प्रचण्डले आफ्नो दस्तावेजमा औंल्याएका छन् ।

संविधानसभाको निर्वाचनमा आइसकेपछि पनि विद्रोहको कुरा गरेर आफूले गल्ती गरेको प्रचण्डले राजनीतिक दस्तावेजमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुस्

प्रचण्डको दस्तावेजमा ‘प्रचण्डपथ’को समिक्षा

प्रतिक्रिया