मंगलबार, वैशाख ८, २०८३

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुगेनन्

देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने महिला नभेटाउँदा वरिष्ठ नेताहरूलाई केन्द्रमा ल्याउन ढिलाई

मेरोन्यूज २०७८ पुष १३ गते १०:२४



काठमाडौँ । राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार सबै राजनीतिक दलले केन्द्रदेखि वडासम्मका समितिमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनु पर्छ । त्यो नभएमा कानुनअनुसार निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गर्दैन ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्य समितिमा ३३ प्रतिशत महिला नपुगेपछि राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा निर्वाचन आयोगले फर्काउन खोजेको थियो । तर, कांग्रेसले पार्टीको विधानअनुसार केन्द्रीय कार्य समिति १६८ सदस्यीय भएको र अहिले पदाधिकारीसहित १३४ जना मात्रै निर्वाचित भएकाले पूर्ण कार्यसमिति बनाउँदा ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाएपछि दल दर्ता गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

आयोगले १२ माघमा १९ राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न निर्धारण गरेको निर्वाचनका लागि १० पुसम्म दल दर्ता गर्न समय दिएको थियो ।
केही दिनअघि मात्र सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य गरेर १३४ जनाको केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । ३४ जना मनोनयन गर्न बाँकी छ ।

१३४ जनाको ३३ प्रतिशत कम्तिमा ४४ जना हुनु पर्ने हो । तर, महाधिवेशनबाट पदाधिकारी र सदस्य गरी कांग्रेसमा ४१ जना महिला निर्वाचित छन् । यही कार्य समितिको ३३ प्रतिशत महिला नपुगेपछि आयोगले दर्ता गर्दा प्रश्न उठाएको थियो । कांग्रेसलाई आयोगमा दर्ता गर्न पुगेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्य समितिलाई पूर्णता दिँदा ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाएपछि दल दर्ता गरिएको थियो ।

१६८ सदस्यीय केन्द्रीय समितिमा महिला ३३ प्रतिशत पुग्न ५६ जना चाहिन्छ । अहिले ४१ जना निर्वाचित भएकाले अब १५ जना महिलालाई केन्द्रीय समितिमा मनोनयन गर्नु पर्छ । यता केन्द्रमा मनोनयन गर्ने उपयुक्त महिला नपाउँदा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिमा वरिष्ठ नेताहरूलाई मनोनयन गर्न सकेका छैनन् । देउवाले पहिला कार्य ससिमति बैठकअगावै नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने तयारी गरेका थिए । तर, महिला ३३ प्रतिशत पुर्‍याउन पर्ने भएपछि पहिला केन्द्रमा ल्याउने महिला एकिन गरेपछि मात्रै नेताहरूलाई केन्द्रमा मनोनयन गर्ने निष्कर्षमा पुगेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेमा अहिले सहमहामन्त्री महालक्ष्मी उपाध्याय, महिला खुल्लातर्फ ९ जना, सात प्रदेशबाट एक/एक जनाका दरले ७ जना, खसआर्य महिलातर्फ ६ जना, केन्द्रीय सदस्य आदिवासी जनजाती महिला ७ जना, केन्द्रीय सदस्य मधेसी महिला ४ जना, केन्द्रीय सदस्य दलित महिला ४ जना, केन्द्रीय सदस्य थारु महिला २ जना र केन्द्रीय सदस्य मुस्लिम महिला १ गरी ४१ जना निर्वाचित भएका छन् । ३३ प्रतिशत पुर्‍याउन अब १५ जना मनोनयन गर्न बाँकी छ ।

प्रतिक्रिया