कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुगेनन्
देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने महिला नभेटाउँदा वरिष्ठ नेताहरूलाई केन्द्रमा ल्याउन ढिलाई

काठमाडौँ । राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार सबै राजनीतिक दलले केन्द्रदेखि वडासम्मका समितिमा ३३ प्रतिशत महिला अनिवार्य पुर्याउनु पर्छ । त्यो नभएमा कानुनअनुसार निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गर्दैन ।
सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्य समितिमा ३३ प्रतिशत महिला नपुगेपछि राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा निर्वाचन आयोगले फर्काउन खोजेको थियो । तर, कांग्रेसले पार्टीको विधानअनुसार केन्द्रीय कार्य समिति १६८ सदस्यीय भएको र अहिले पदाधिकारीसहित १३४ जना मात्रै निर्वाचित भएकाले पूर्ण कार्यसमिति बनाउँदा ३३ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएपछि दल दर्ता गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
आयोगले १२ माघमा १९ राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न निर्धारण गरेको निर्वाचनका लागि १० पुसम्म दल दर्ता गर्न समय दिएको थियो ।
केही दिनअघि मात्र सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य गरेर १३४ जनाको केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । ३४ जना मनोनयन गर्न बाँकी छ ।
१३४ जनाको ३३ प्रतिशत कम्तिमा ४४ जना हुनु पर्ने हो । तर, महाधिवेशनबाट पदाधिकारी र सदस्य गरी कांग्रेसमा ४१ जना महिला निर्वाचित छन् । यही कार्य समितिको ३३ प्रतिशत महिला नपुगेपछि आयोगले दर्ता गर्दा प्रश्न उठाएको थियो । कांग्रेसलाई आयोगमा दर्ता गर्न पुगेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्य समितिलाई पूर्णता दिँदा ३३ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएपछि दल दर्ता गरिएको थियो ।
१६८ सदस्यीय केन्द्रीय समितिमा महिला ३३ प्रतिशत पुग्न ५६ जना चाहिन्छ । अहिले ४१ जना निर्वाचित भएकाले अब १५ जना महिलालाई केन्द्रीय समितिमा मनोनयन गर्नु पर्छ । यता केन्द्रमा मनोनयन गर्ने उपयुक्त महिला नपाउँदा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिमा वरिष्ठ नेताहरूलाई मनोनयन गर्न सकेका छैनन् । देउवाले पहिला कार्य ससिमति बैठकअगावै नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने तयारी गरेका थिए । तर, महिला ३३ प्रतिशत पुर्याउन पर्ने भएपछि पहिला केन्द्रमा ल्याउने महिला एकिन गरेपछि मात्रै नेताहरूलाई केन्द्रमा मनोनयन गर्ने निष्कर्षमा पुगेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।
कांग्रेमा अहिले सहमहामन्त्री महालक्ष्मी उपाध्याय, महिला खुल्लातर्फ ९ जना, सात प्रदेशबाट एक/एक जनाका दरले ७ जना, खसआर्य महिलातर्फ ६ जना, केन्द्रीय सदस्य आदिवासी जनजाती महिला ७ जना, केन्द्रीय सदस्य मधेसी महिला ४ जना, केन्द्रीय सदस्य दलित महिला ४ जना, केन्द्रीय सदस्य थारु महिला २ जना र केन्द्रीय सदस्य मुस्लिम महिला १ गरी ४१ जना निर्वाचित भएका छन् । ३३ प्रतिशत पुर्याउन अब १५ जना मनोनयन गर्न बाँकी छ ।
प्रतिक्रिया