शनिबार, वैशाख १२, २०८३

रबीन्द्र मिश्रको ‘इन्ट्री’ ले विवेकशील समूह तितरबितर

मेरोन्यूज २०७८ पुष १३ गते १८:५६

काठमाडौं । बीसीसी नेपाली सेवामा लामो समय रहेर पत्रकारिता गरेका रबीन्द्र मिश्रले पेशाबाट अवकाश लिएर नेपाली राजनीतिमा प्रवेश गरे ।

केही राजनीतिक दलका नेताहरुलाई समेत साथमा लिएर साझा पार्टीका नामबाट सक्रिय राजनीतिमा प्रवेश गरेका मिश्रले युवाहरुको पार्टी विवेकशील नेपालीसँग एकता गरेर संयुक्त पार्टीको नेतृत्व सम्हाले ।

लामो समय बेलायत बसेर आएका मिश्र समाजिक सेवामा पनि सक्रिय थिए । सामाजिक सेवासमेत गरेर चर्चा बुटेलेका मिश्रले युवाहरुलाई नेतृत्व गर्न सक्ने ठानेर नै उनलाई पार्टी नेतृत्वको बोझ थमाए ।

२०७४ साउन ११ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण भएको थियो । सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए ।

तर उनीहरुको एकता डेढ वर्ष नपुग्दै विभाजित भयो । रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि २०७५ पुसमा पार्टी फुटेको थियो ।

पार्टी फुटेको एक महिनापछि मिश्रले सामाजिक सञ्जालबाटै लामो चिठी लेखेर विवेकशील समूहसँग माफी मागेका थिए ।

‘सबैभन्दा पहिले म तपाईंहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु । तपाईंहरूको हामीमाथि जुन विश्वास थियो र पार्टीमा जुन किसिमको परिस्थिति सृजना भयो त्यसबाट तपाईंहरूमा पुगेको आघात केवल व्यक्तिको पीडा, भावना, सहमति र विमतिसँगमात्र सम्वन्धित छैन। त्यो दशकौँदेखि यो देशको रूपान्तरणका लागि हरेक नेपालीको मनमा बलेको आगोसँग सम्वन्धित छ। आफ्नो र सन्तानको भविष्यसँग सम्वन्धित छ। त्यसैले तपाईंलाई परेको आघातका लागि हामी पार्टी निर्माणमा जुटेको नेतृत्व पंक्ति नै जिम्मेवार छौं ।’– उनले लेखेका थिए ।

पार्टी अलग भएको झण्डै दुई वर्षपछि २०७७ मंसिर २४ मा पुनः दुई पार्टीको पुनर्मिलन भयो । दोस्रो पटकको एकतापछि मिश्र अध्यक्ष भए भने मिलन पाण्डेलाई संयोजक बनाइयो ।

दोस्रो पटक पार्टी एकता भइसकेपछि फेरि पार्टी भित्र विवाद चुलियो । कारण थियो– मिश्रको ‘मार्ग परिवर्तन’ ।

दश वर्षे सशस्त्र युद्ध र जनआन्दोलनपछिको परिवर्तनलाई आत्मसाथ गरेको पार्टीमा मिश्रले ‘विचारभन्दा माथि देश’ भन्दै माग परिवर्तन गराए । गत साउन ११ गते मिश्रले सामाजिक सञ्जालमार्फत ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज सार्वजनिक गरे ।

राजनीतिक परिवर्तनलाई उल्ट्याउने गरी मिश्रले संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि परिवर्तन चाहेका युवा समूह असन्तुष्ट बन्यो । पार्टी संयोजक मिलन पाण्डेसहित रञ्जु दर्शना, केशव दाहाल, राजेन्द्र पंगेनीले मिश्रलाई काउन्टर गर्दै नयाँ दस्तावेज सार्वजनिक गरे ।

विवेकशीलका संस्थापक थापाको निधनपछि पार्टी कब्जा गरिसकेका मिश्रले संयोजक पाण्डेलाई नै पार्टीबाट निश्कासित गरिदिए । मिश्रको कार्यशैलीको विरोध गर्दै पार्टी संस्थापक युवाहरु एकपछि अर्को गर्दै निश्किदै गएका छन् ।

नेपालको राजनीतिक अवस्था देखेर आजित बनेका युवाहरुलाई पनि राजनीतिमा जोड्न सफल विवेकशील पार्टीका संस्थापक उज्वल थापाको भने कोरोना संक्रमणका कारण निधन भइसकेको छ ।

यतिबेला ती युवाहरुलाई थापाको अभाव खड्किएको छ । मिश्रले पाण्डेलाई पार्टीबाट निकालेपछि युवा नेतृ रञ्जु दर्शना पनि पार्टीबाट बाहिरिइन् । पार्टीबाट निश्किँदै गर्दा उनले आफूहरुले बनाएको बलियो जगमा तला थप्दा कमसल सामग्रीबाट बनेको गुनासो गरिन् । जुन, मिश्रप्रति लक्षित थियो ।

‘पहिलो पटक थपेको तला भत्कियो र दोस्रो पटक पुनः सो भल्किएको तला निर्माण गर्ने प्रयास गरियो। तर, जुन असली, मजबूत सामग्रीको आडमा जग र भुईँतला बनेको थियो माथिको तला कमसल ‘देख्दा झिलिक्क, तर भित्र खोक्रो’ हुने सामाग्रीबाट बनेछ ।’ – रञ्जुले विवेकशील साझाभन्दा माथि देश भनेर लेखेकी छन् ।

युवाहरुलाई हातेमालो गर्दै वैकल्पिक पार्टी बनाउँदै गरेका युवाहरु ‘मिश्र’को इन्ट्रीपछि एकाएक आउट भएका छन् । ती युवाहरु पछिल्लो राजनीतिको कडी खोज्दै विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफलमा रहेका छन् ।

यता मिश्रले भने आफूलाई बलियो बनाउने प्रयासमा विभिन्न समूहहरुलाई पार्टीमा एकतृत गर्न थालेका छन् । केही दिनअघि मात्रै मिश्रले सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साहलाई पार्टीमा भित्र्याएर पार्टी एकता भएको घोषणा गरेका थिए ।

Advertisement
NiccNicc

प्रतिक्रिया