बुधबार, जेठ १, २०८२

सुदूरका पहाडमा भुवाको रौनक

मेरोन्यूज २०७८ पुष १७ गते १९:३५

कैलाली । बाजुरासहित सुदूर पश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।

पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुषेऔंसीका दिनबाट सुरु हुन्छ । जिल्ला बासीले दशैं तिहार पछि भुवा पर्वलाई नै बिशेष महत्वको पर्वका रुपमा मनाउने गर्दछन् । आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधीभर रमाईलो गर्ने गरिन्छ । यो पर्व तीनदेखि पाँचदिनसम्म मनाइने गरिन्छ । जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ सहीतका क्षेत्रमा भव्य रुपमा मनाउने गर्दछन् ।

ब्रह्मतोलामा यो वर्ष हरिनो जात्रा पनि परेको छ । पाण्डवहरुले जीत पछि खुसीयाली स्वरुप उत्सव मनाउँदा गरेका झाँकी सहीत लाखे नाचहरु प्रर्दशन गर्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बीच भएको लडाइको सम्झना स्वरुप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जनाकारहरु बताउँछन् । यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रुपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रुपमा परापूर्व कालदेखि मनाइदै आएको छ ।

भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रर्दशन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रुपमा पनि विश्लेषण गरिएको छ । पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा जिल्ला बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्वीरहरु पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।

जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधीभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगाएत सुदुरपश्चिमका अछाम, डोटी, बझाङ्ग लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ । भुवा पर्वकै अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बाजुरा लगायत अछाम र बझाङमा पनि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया