सोमबार, वैशाख १४, २०८३

गगन थापाले भने – ‘कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ’

मेरोन्यूज २०७८ पुष १९ गते १७:११

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका गगनले भने,‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ,सिंगो कांग्रेस बनाएर चलाउँछौं।’

Advertisement
NiccNicc

एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउँदै उनले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउन लक्ष्य रहेको बताए । उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लिएर आगामी आठ महिनामा १५ लाख जना प्रवेश गराउने बताए।

उनले भने, ‘औपचारिक रुपमा घोषणा नभए पनि आजैबाट पार्टी प्रवेश अभियान सुरु भएको छ। आज ५०० जना अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नुभएको छ ।अब १४ लाख ९९ हजार ५०० लाई पार्टीमा ल्याउँछौं। यहाँबाट फर्किने हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नुहोला।’
आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता उनले जनाए।

‘यसपल्ट कांग्रेसले बहुमत पायो भने पाँच वर्ष देश चलाउँछ। २०८९ मा सरकारमा पुगेको कांग्रेस २०८४ सम्मै सरकार टिकाउँछ। कांग्रेसले २०४८ सालमा बहुमत पायो। आफ्नै गल्तीले सरकार टिकाउन सकेन। नेकपाले २०७४ मा बहुमत पायो, थेग्न सकेन। हामी आफ्नै र अर्काको गल्तीबाट पाठ सिकेर अघि बढ्छौं,’ उनले भने ।
नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, विष्णुभक्त पोख्रेल, रेवति पौडेल सहित ४७५ जना कांग्रेस प्रवेश गरेको कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले बताए ।

प्रतिक्रिया