आइतबार, वैशाख १३, २०८३

निर्वाचितहरूलाई लान्छित गर्नु कार्यकर्ताहरुको अपमान हो : विनोद चौधरी

मेरोन्यूज २०७८ पुष २२ गते १३:४१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।

Advertisement
NiccNicc

‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ? ’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटकालागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।

चौधरीले केन्द्रीय सदस्य (मधेशीतर्फ) २२०६ मत ल्याएर दोस्रो स्थानमा विजयी भएका थिए । सोही पदकालागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । यादवले विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य बनेको भन्दै निर्वाचन आयोगमा खारेजीको माग गदै तीन सातापछि बुधबार उजुरी दर्ता गराएका थिए ।

चौधरीले भने,‘राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ । ’

उनले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरि निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लान्छित गर्नु भनेको आम कार्यकर्ताहरुको अपमान पनि हो ।’ केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए भने उनी सांसद पनि हुन् ।

प्रतिक्रिया