सोमबार, वैशाख १४, २०८३

मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’

मेरोन्यूज २०८३ वैशाख १३ गते २०:०३

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र(१ मुक्तिनाथ मन्दिरको शिरमा भगवान् विष्णुले भोजन गर्ने ठाउँ अनौठो ‘विष्णु चुल्हो’ अवस्थित छ । मुक्तिनाथ मन्दिरबाट उत्तर÷पूर्वको मनाङ(मुस्ताङ थोरङ फेदीको केही तल चार हजार १०० मिटरको उचाइमा विष्णु चुल्हो छ ।

Advertisement
NiccNicc
पौराणिक कालमा मुक्तिनाथ मन्दिरमाथिको अग्लो विशाल पर्वतमालामा अवस्थित शालिग्राम ढङ्गाजस्तै देखिने विष्णु चुल्होमा भगवान् विष्णुले खाना पकाएर खाने गरेको धार्मिक किवंदन्ती छ । उक्त स्थानमा अरु धेरै ससाना पत्थर रुपी ढुङ्गामा विष्णु चुल्होको आकृतिहरू देख्न सकिन्छ । 

मुक्तिनाथ क्षेत्रको पर्वतमालामा अवस्थित विष्णु चुल्होमा भगवान् विष्णुले तपस्या गर्दा खान पकाएर खाने गरेको धार्मिक जनविश्वास रहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । पौराणिक मान्यताअनुसार उक्त विष्णु चुल्हो रहेको स्थानमा बसेर भगवान् विष्णुले तपस्या गरी बसेको भन्ने जनविश्वास रहेको उनले बताए ।

पौराणिक कालमा विष्णु भगवान् तपस्यामा लीन हुँदा ब्रह्माजीले ‘विष्णु चुल्होमा खीर पकाएर विष्णु भगवान् र अन्य देवीदेवताहरुलाई खुवाएको धार्मिक जनविश्वास रहेको व्यवस्थापक भुसालले बताए । उनका अनुसार ब्रह्माजीले विष्णु भगवानलाई खीर पकाएर भोजन गराएको स्थान ‘विष्णु चुल्हा’ भन्दा केही तल मुक्तिनाथ परिसरको ज्वालामाई रहेको स्थानमा खीर परेको भन्ने भनाइ छ । यसैका कारण ज्वालामाई रहेको माटो सुँघ्दा खिरजस्तो वासना आउने गरेको व्यवस्थापक भुसालले उल्लेख गरे ।

भगवान् विष्णु तपस्या गरी बसेको स्थानमा रहेको विष्णु चुल्हो दुरुस्तै कालो शालिग्राम ढुङ्गामा कुदिएको जस्तो आकृतिको छ । विष्णु चल्हो आकार करिब तीन फिट लम्बाइ र एक फिट चौडाइको छ । चुल्होको उचाइ पनि करिब एक फिटभन्दा बढी रहेको व्यवस्थापक भुसालले जानकारी दिए । 

“यो चुल्हो भगवान् विष्णुको शक्तिबाट प्राकृतिक रुपमा उत्पत्ति भएको बताइन्छ । विष्णु चुल्हो ढुङ्गामा खानेकुरा पकाउने ठाउँ, अचार पिस्ने ठाउँ, डाडुपन्यु र दाबिलो आदि राख्ने ठाउँलगायतका विभिन्न आकृत अवलोकन गर्न सकिन्छ”, उनले भने ।

हिन्दू शास्त्रमा उक्त स्थानमा अवस्थित विष्णु चुल्होलाई भगवान् विष्णुले तपस्या गर्दा खानेकुरा पकाएर खाने गरेको उल्लेख गरिए पनि बौद्ध मार्गीले उक्त कालो ढुङ्गामा रहेको चुल्हो आकृतिको ढुङ्गालाई फरक ढङ्गले अथ्र्याउने गरेका व्यवस्थापक भुसालले उल्लेख गरे । 

यहाँका स्थानीय बौद्धमार्गीका अनुसार मुक्तिनाथ मन्दिरको शिरमा रहेको उक्त विष्णु चुल्होलाई स्थानीय भाषामा ‘आमा झ्यातङ धोङ्ब’ भन्ने गरिन्छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङका अनुसार मुक्तिनाथ पर्वतमालामा अवस्थित विष्णु चुल्होलाई बौद्धमार्गीले ‘आमा झ्यातङ धोङ्बु’ भन्ने गरेका बताए ।
गुरु पद्यसम्भवअर्थात् गुरु रिन्पोर्छेले ध्यानसाधना गर्ने बेलामा खाना पकाएर खानका लागि उक्त ढुङ्गालाई चुल्होका रूपमा प्रयोग गरेका भन्ने जनविश्वास रहेको उहाँको भनाइ छ ।

यसैगरी घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोमबाट तल्लो क्षेत्रका थकाली समुदायले उक्त स्थानको विष्णु चुल्होलाई स्थानीय भाषामा ‘कोदो झ्योदो’ भन्ने गरिएको बताए । “हामी बाल्य अवस्थामा पनि यहाँ आएर चुल्हो हेर्न गरेका थियौँ, साथीभाइलाई पनि ‘कोदो झ्योदो’ जाउँ भन्ने गथ्यौँ”, उनले भने ।

हिन्दू तथा बौद्ध धर्मअनुसार फरकफरक धारणा रहेपनि पवित्र मुक्तिनाथ पर्वतमालामा अवस्थित विष्णु चुल्होलाई व्यवस्थित र आवश्यक प्रचारप्रसार गर्न सकिएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

बर्सेनि लाखौलाख धार्मिक पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरे पनि उक्त विष्णु चुल्होको बारेमा जानकारी नहुँदा उक्त स्थान गुमनामजस्तै बनेको स्थानीयको गुनासो छ ।

मुक्तिनाथ मन्दिरबाट आधा घण्टाको पैदल दूरीमा सहज पुग्ने सकिने उक्त स्थानको विष्णु चुल्हो रहेको स्थानमा मन्दिर स्थापना गरिएको छ । मन्दिरभित्र रहेको चुल्होमा कहिलेकाही स्थानीयले दर्शन र पूजा गर्ने गरेका छन् । विष्णु चुल्हो रहेको स्थानमा एक जना साँधुले नियमित पूजाअर्चना गर्दछन् ।

प्रतिक्रिया