बिहीबार, पुष १०, २०८२

मोबाइल चोरी गर्ने दुई प्रहरीमाथि छानबिन सुरु

मेरोन्यूज २०७८ माघ ७ गते १२:४७

कैलाली । कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुई प्रहरीलाई हिरासतमा राखेर छानबिन सुरु भएको छ । लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि बिहीबार मोबाइल ग्यालरीमा पुगेका एक जना प्रहरीले चोरी गर्दै गरिरहेको भिडिओ पसलको सिसिटिभीमा कैद भएको थियो ।

ग्यालरीमा खानतलासी गर्न गएका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरासतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए ।

मोबाइल ग्यालरीका सञ्चालक सुवास रावलले खानतलासीको नाममा पसलमा राखिएको नयाँ मोबाइल लगेको बताए । मोबाइलको खाली डब्बा देखेपछि सिसिटिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएका थिए ।

सोही निवेदन र भिडियोको आधारमा प्रहरीले दुवै जनामाथि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए । बिहीबार प्रहरीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा धनगढी ५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ रहका थिए । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको थियो ।

प्रतिक्रिया