आइतबार, चैत २९, २०८२

काेराेना कहर

अबको एक सातामा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने

खोप नलगाउने कोरोनाको उच्च जोखिममा

सञ्जिता खनाल २०७८ माघ ७ गते १५:५८

काठमाडौं । पछिल्ला केही केही दिनयता कोरोना संक्रमण ह्वात्तै बढेको छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन छिटो फैलिने तर कम घातक भएको बताइरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ६ दिन (आइतबारदेखि बिहिबार) सम्मको तथ्यांक हेर्दा कुल परीक्षण १ लाख ७ हजार २६६ जनामा कोरोना परीक्षण भएको छ । जसमा ४३ हजार ५४५ जनामा कोरोना पुष्टि भएको छ । जुन कुल परीक्षणको ४०.६० प्रतिशत हो ।

जसमा कोरोना पुष्टि भएका आधा काठमाडौं उपत्यककामाा रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट नै बनेको छ ।

गत २७ पुसमा संक्रमण प्रतिशत १९ प्रतिशत अर्थात २ हजार ४४४ मा संक्रमण देखिएको थियो । भने माघ ६ गते पाँच गुणाभन्दा बढी पुगेको छ । यो तथ्यांक पीसीआर वा एन्टिजेन परीक्षण गराएकाहरुको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको हुदाँ अनिवार्य जनस्वास्थ्यको मापदण्ड पालना गर्न बिना काम घरबाट बाहिर नजान आग्रह गरे ।

उनले भने, ‘अहिले उपत्यकाका घरघरमा संक्रमित छन्, तर उनीहरु परीक्षणको लागि पुगेकै छैनन् ।’ उनले लक्षण देखिएको छ भने तुरुन्तै परीक्षण गराउन आग्रह गरे ।

पीसीआर परीक्षण शुल्क एक हजारबाट ८ सय र निजि अस्पतालमा २ हजारबाट १५०० पुर्याएको छ । यसले पनि परीक्षण गर्नेको संख्या बढ्ने मन्त्रालयको ठम्याई छ । अबको एक सातामा संक्रमण उच्च बिन्दु (पिक) मा पुग्ने अनुमान मन्त्रालयको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले अबको एक साता संक्रमण उच्च विन्दुमा पुग्ने र माघको तेस्रो सातादेखि ओरालो लाग्ने जानकारी दिए । उनका अनुसार संक्रमण उत्कर्षमा पुगेपछिका केही हप्ता स्थिर रहने र त्यसको ४ देखि ६ हप्तामा संक्रमण घटेर जाने हुन्छ ।

अहिले कोभिड संक्रमणको अहिले नेपाल तेस्रो लहरको चरम विन्दुमा पुग्दै गरेको र आगामी दिनमा दैनिक संक्रमितको संख्या २० हजारसम्म पुग्ने मन्त्रालयको अनुमान छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार कोरोनाको तेस्रो लहरको पीकमा पुग्न केही दिन मात्र बाकि रहेको छ । उनले भने ‘हामी यतिबेला कोरोनाको तेस्रो लहरको उच्च बिन्दुमा पुग्न धेरै दिन छैन् ।’

इपिडिमियोलोजी एवम् रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले लक्षण भएका मानिस मात्रै परीक्षणको दायरामा आएकाले अब समुदाय स्तरसम्म परीक्षण गर्न थाल्नुपर्ने बताए । उनका अनुसार अहिले परीक्षण गराउन जानेमा लक्षण देखिएका र विदेश जाने प्रयोजनको लागि बढी मात्र छन् ।

‘निःशुल्क र सर्वसुलभ परीक्षण नभएकाले परीक्षणको कम गरेको देखिन्छ । कतिपय पैसा अभावका कारण पनि लक्ष्ण भए पनि घरमै बसेको देखिन्छ,’ उनले भने, ‘खोप कार्यक्रमण व्यापक बनाउनु पर्छ ।’

खोप नलगाउने बढी जोखिममा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले अस्पतालमा भर्ना हुने धेरैजसो संक्रमितले खोप नलगाएको पाइएको बताउँछन् । उनले खोप आफुलाई पायक पर्ने स्थानमा गएर लगाउन आग्रह गरे ।

कोरोनाविरुद्धको खोप नलगाउनेलाई संक्रमणको उच्च जोखिम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले खोप लगाएकामा यो भेरियन्टले कम असर गर्ने देखिएको बताए ।

अहिलेको ओमिक्रोन भेरियन्टले श्वास नलीको माथिल्लो भागमा असर गर्ने देखिएको बताए । उनका अनुसारपहिलेका भेरिएन्टले फोक्सोमा इन्फेक्सन गराउने गरेको देखिन्थ्यो ।

उनले भने , ‘अहिलेको ओमिक्रोन भेरियन्टले रुघा लाग्ने, नाक, घाँटी, छाती र श्वासनलीहरुमा इन्फेक्सन गराएको देखिन्छ ।’

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया