मंगलबार, पुष ८, २०८२

पशुपति धर्मशालाको सम्झौता अझै खारेज भएन

मेरोन्यूज २०७८ माघ १० गते १५:५६

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता अझै खारेज भएको छैन ।

धर्मशाला सञ्चालनका लागि बतास अर्गनाइजेशनसँग भएको सम्झौता गैरकानूनी भन्दै सम्झौता खारेज गर्न धर्मशाला भाडा सम्झौतासम्बन्धी छानबिन समितिले एक साताअघि सिफारिस गरेको थियो ।

संस्कृति पर्यटनमन्त्री प्रेम आलेले धर्मशालाको अनुगमन गरेपछि गैरकानूनी तरिकाले बतास समूहसँग सम्झौता भएको भन्दै पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति बनाएका थिए ।

गत पुस २३ गते गठित छानबिन समितिले गत सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्न सिफारिस गरेको थियो ।

छानबिन समितिकाअनुसार धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको छ ।

छानबिन समितिले सिफारिस गरेको एकसातापछि मंगलबार पशुपति क्षेत्र विकास कोषको बैठक बस्दैछ । उक्त बैठकमा छानबिन समितिको प्रतिवेदनकाबारेमा छलफल हुने भएको छ ।

कोषको मंगलबार बस्ने उक्त बैठकले नै बताससँगको सम्झौता खारेज गर्ने पर्यटनमन्त्री आलेले बताएका छन् ।

प्रतिक्रिया