राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा कुन दलको कस्तो अवस्था ?

दाङ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो ।
फागुन २० देखि राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण माघ १२ मा सबै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशको निर्वाचन राजधानी दाङको घोराहीमा हुँदैछ । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ ।
निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट तीनजना उम्मेदवार छन् । दलीय सहमतिअनुसार नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन् । खुलाबाट शर्माले महिलाबाट गैरेले र दलितबाट विश्वकर्माले उम्मेदवार हुन् ।
एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बनाइएका छन् ।
लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाको मतभार सात हजार सात सय ५८ रहेको छ । लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितप्रायः छ । मतभारका आधारमा गठबन्धनका उम्मेदवारको पक्षमा बहुमत हुने देखिन्छ ।
एक वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए । राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा नौजना मतदाता रिक्त छ । ८७ प्रदेशसभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् ।
स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठबन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् ।
माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । एमालेका ८८ प्रमुख,उपप्रमुख छन् ।
प्रदेशसभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एकजना छन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ । यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ ।
प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र पालिका प्रमुख, उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ ।











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया