मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कसको कति मतभार ?

जनकपुरधाम । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ ।
मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदानस्थल जनकपुरधामको महेन्द्रनारायण निधी प्रतिष्ठान तोकिएको छ ।
बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा सम्बन्धी तोकेको १९ बुँदे मापदण्डलाई पूर्ण रूपमा पालन गरी निर्वाचन तालिका तोकिएको उनले बताए ।
संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको छ भने मत खसाल्न बेग्लै बाकससमेत राख्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली समेत खटाइने उनले बताए । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मत परिणाम आउने तरिकाले व्यवस्था भएको उनले बताए ।
मधेस प्रदेशका ८ वटै जिल्लामा राष्ट्रिय सभाको लागि ३ सय ७२ मतदाता रहेको छ । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उनले बताए ।
प्रदेशसभा सदस्यहरूको लागि सेतो पानामा हरियो रंग भएको मतपत्र रहेको छ भने पालिका प्रमुख र उपप्रमुखको लागि रातो मासिक विवरण भएको मतपत्र रहेको छ ।
त्यसैगरि, मतदान स्थलमा प्रदेश सांसद र पालिकाका प्रमुख उपप्रमुखको लागि पनि फरक फरक स्टिकर र केन्द्र तोकिएको बताउँदै अधिकृत प्याकुरेलले भने,‘प्रदेश सभाका लागि हरियो मतपत्र र लाइन छुट्टै हुन्छ भने पालिका प्रमुख उपप्रमुखहरूको लागि रातो रंगको मतपत्र, छुट्टै मतपेटिका र लाइन अलग हुन्छ ।’ महिला, दलित, अपाङ्ग, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको छ ।
प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई आचार संहिता लाग्ने उनले बताए ।
यसैबीच, राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा विभिन्न ४ दलबाट ४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १–१ जना र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनबाट २ जना उम्मेदवारी दिएका हुन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा र अन्य समूह कोटामा जसपातर्फबाट सिराहामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् ।
लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव, नेकपा एमालेको तर्फबाट अन्य समूहमा पर्साका उस्सान अन्सारीले उम्मेदवारी दिएका हुन् । महिला कोटमा एमालेबाट उम्मेदवारी दिएकी बिनादेवी साहले आफ्नो उम्मेदवारी फिर्ता गरिसकेकी छिन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचन आयोगले पालिका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । यस हिसाबले मधेस प्रदेशमा स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।
राजनीतिक दलका आधारमा कांग्रेसको २ हजार ३७० मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया