बुधबार, पुष १६, २०८२

आगलागीमा मृत्यु हुने पाँचै जनाको सनाखत, एक जना घाइते

मेरोन्यूज २०७८ माघ २८ गते ९:३२

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’मा शुक्रबार बिहान भएको आगलागीमा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । एक घरमा भएको आगलागीमा परी ६ वर्षदेखि ४० वर्ष उमेरका पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

राति सुतिरहेको बेला बिहान २ बजे आगलागी सुरु भएको थियो । उनीहरूको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

आगलागीमा एकजना घाइते भएका छन् । उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया