शुक्रबार, फागुन २२, २०८२

सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता

मेरोन्यूज २०७८ माघ २९ गते १६:३१

दमक । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार भएका छन् । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएका हुन ।

Advertisement
nepal life insurencenepal life insurence

गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक–५ का राजु गौतमको रु चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको रु १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको रु दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको रु दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको रु छ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए । सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पु¥याइदिन अपिल गरेका छन् ।

प्रतिक्रिया