शनिबार, चैत ७, २०८२

भित्री कपडामा फल्सबटम बनाएर चार करोडको सुन आयात

मेरोन्यूज २०७८ फागुन २ गते ६:५५

काठमाडौँ । आफैँले लगाएको भित्री कपडामा फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै चार करोडको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सोही क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनलाई सादा पोसाकमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको थियो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आउने क्रममा विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्दा उनको शरीरमा सुन फेला पारिएको हो । “उसको हाउभाउ गतिविधि शंकास्पद देखिएपछि सादा पोशाकमा खटिएका प्रहरीले जाँच गर्दा झण्डै पाँच किलो सुन फेला पार्‍यो, डिटेक्टरले समेत डिटेक्ट नगर्ने गरी कपडामा फल्स बटम बनाएर सुन ल्याएको पाइएको छ,’ ढकालले भने ।

बरामद सुन अर्ध ठोस अवस्थाको छ । पेन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर एक पोका तथा भित्र वस्त्रका विभिन्न स्थानमा फल्स बटम बनाएर अरु तीन पोका सुन बरामद भएको छ ।

सबै सुन चार किलो ८४० ग्रामको छ । यसमा ९८ दशमलव ६६ प्रतिशत सुन रहेको परीक्षणमा पत्ता लागेको छ । यसको बजार मूल्य झण्डै चार करोडको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया