आइतबार, पुष २७, २०८२

टाउको र शरीर झोलामा फेला परेको शव पहिचान

मेरोन्यूज २०७८ फागुन १० गते १३:०१

काठमाडौँ । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक नगरपालिका ५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

दमक नगरपालिका ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम ५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । चाँडै घटनामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए ।

गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जंगलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो । शव पहिचान गर्न प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो ।

उक्त घटनामा संघीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया