महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महोत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।
कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदी–थुनुवा बताउँछन् । “राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको छ”, जिउभरि खटिरा देखाउँदै थुनुवाले भने, “कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन ।”
एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री स्वीकार गर्छन् ।
“हामी स्वास्थ्य समस्याबारे संवेदनशील नभएको होइन”, उनले भने, “कारागारमा पर्याप्त जनशक्ति छैन ।” यससँगै नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण रहेको क्षेत्रीले बताए । भित्रको सरसफाइमा कैदी–थुनुवाले पनि ध्यान दिन नसकेको उनको भनाइ छ । कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी–थुनुवामा देखिएको छ । छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी–थुनुवाले माग गरेका छन् । न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा कैदी–थुनुवाको सङ्ख्या बढ्दै गएको छ । विसं १९१३ मा निर्माण गरिएको कारागार भवन जीर्ण बनेको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया