बुधबार, पुष ३०, २०८२

एमसीसी सकस

केपी ओली रणनीतिः एक तीर, दुई निशाना

माधवलाई सिध्याउने, प्रचण्डलाई एक्ल्याउने

मेरोन्यूज २०७८ फागुन ११ गते १५:५०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला एकैतिरले दुई शिकार गर्ने रणनीतिमा छन् ।
ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका आफ्नै पूर्व सहकर्मी माधव नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति सिध्याउने अस्त्र एमसीसीलाई बनाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनदेखि तीन वटै तहको निर्वाचनमा गठबन्धन बनाएर अघि बढ्न खोजेका पाँच दललाई फुटाउन ओलीले निकै प्रयत्न गरे । गठबन्धन फुट्ने नदेखिएपछि उनले सबै मिलेर आए पनि एमाले एक्लै भिड्ने भन्दै हाँक दिँदै हिँडे ।

तर जेसुकै भने पनि पाँच गठबन्धन कायमै रहँदा एमालेले आसन्न निर्वाचनमा क्षति ब्यहोर्नुपर्छ नै । पछिल्लो पटक राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनमा गठबन्धनका कारण पार्टीले क्षति ब्यहोर्नु पर्यो । त्यसैले ओलीले गठबन्धन टुटाउन अनेक प्रपञ्च गरिरहँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि बढायो । तर सत्ता साझेदार दलहरुबीच एमसीसीमा सहमति नजुट्ने देखेपछि ओलीले गठबन्धन टुटाउन च्याखे थापिरहेका छन् ।

६ महिनादेखि संसदमा अवरोध खडा गरे पनि आफ्ना माग पूरा हुने सम्भावना नै नभएपछि ओलीले एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री देउवासँग अनेक बार्गेनिङ गरिरहेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनमा एमसीसीका पक्षमा कांग्रेस मात्रै देखिएपछि देउवाले ओलीको साथ लिन केही न केही मुद्दामा ‘कम्प्रमाइज’ गर्नैपर्ने बाध्यता छ । दुवैको स्वार्थ गाँसिएका कारण देउवा मात्र बालकोट धाएका छैनन्, ओली पनि बालुवाटार धाइरहेका छन् । जसको चित्र मंगलबार बेलुकाको सौहार्दपूर्ण बालुवाटार भेटको तस्वीरहरुले पुष्टी गरेको छ ।

गठबन्धन टुटाएर नयाँ समिकरणका लागि ओलीले एकैतिरले दुई शिकार गर्ने अवसर खोजिरहेका छन् । त्यसका लागि ओली सबैभन्दा पहिला प्रचण्डका नजिकका सभामुख अग्नि सापकोटालाई हटाएर, एकीकृत समाजवादीका १४ सांसदलाई निलम्बन गर्न चाहिरहेका छन् । यसले प्रचण्ड र नेपाललाई नजिक बनाए पनि कांग्रेसलाई दुई पार्टीबाट अलग बनाउन सकिने छ ।

अमेरिकी दबाबका कारण प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अनुमोदन गराउने ध्यानमा रहेपछि नयाँ समिकरण बन्ने मात्र होइन, राजनीतिक ध्रुवीकरण पनि निश्चित देखिएको छ ।

यसको संकेत माओवादी अध्यक्ष प्रचण्डका दुई दिनअघिका गतिविधिबाट पनि प्रष्ट भएको छ । उनी संसद बाहिरका शक्तिहरुलाई भेट गर्नेदेखि सामाजिक सञ्जालमा आक्रोश पोख्ने काम पनि गरिरहेका छन् । मंगलबार मात्रै प्रचण्डले मोहन वैद्यलाई भेट गरी आफू एमसीसीको हुनै नसक्ने प्रतिवद्धता जनाएर फर्किएका थिए भने आज मात्रै सामाजिक सञ्जाल फेसबुकको कभर फोटोमा प्रतिक्रान्तिकारीहरुले षड्यन्त्र रचिरहेको उल्लेख गरेका छन् ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्,’ प्रचण्डको फेसबुकमा लेखिएको छ, ‘तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

प्रधानमन्त्री देउवादेखि कांग्रेस नेताहरुको एमालेसँगको भेटघाट र छलफलबाट रणनीतिक योजनाहरु बनेका छन्, जुन कुरा बाहिर ल्याइएको छैन ।

प्रतिक्रिया