शुक्रबार, माघ २, २०८२

सत्तारोहणकाे सिँढी बनाइदा बैदेशिक सम्बन्ध खल्बलियोः लिङदेन

मेरोन्यूज २०७८ फागुन १८ गते १७:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्खल्लिन पुगेको बताएका हुन्।
प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको उनले बताए ।
दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भिर संकटतर्फ उन्मुख भएको उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगकाबीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे । देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे ।
उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए ।
राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गरेको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक बिहीबार पनि बस्ने उनले बताए ।
प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुने उल्लेख गरे ।
बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरुलाई अनुमोदन पनि गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया