बुधबार, चैत ११, २०८२

पत्रकारको तलब २५ प्रतिशत बढाउन सिफारिस

मेरोन्यूज २०७८ फागुन १८ गते २१:०३

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलव पछिल्लो तलवको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

समितिले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरवारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलवमा हाल पाइरहेको तलवको २५ प्रतिशतका दरले वृद्धि गर्न सिफारिस गरेको हो ।

प्रतिवेदन पेश गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवीहरुको न्यूनतम आधारभुत आवश्यकता, बजार मुल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरुको तुलनात्मक पारिश्रमिक दरको अध्ययनको आधारमा २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए ।

उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, छुट्टै प्रेस रजिष्टारको व्यवस्था गर्न, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावली अनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सिफारिस गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताए ।

समाजलाई गतिशील बनाउन पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्दै मन्त्री कार्कीले पत्रकारहरुलाई उत्साहका साथ काम गर्ने अवसर दिलाउन राज्य सचेत रहेको बताए ।

यसै अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा राज्यले उदासिनता देखाएको भन्दै ऐन सम्पूर्ण रुपले कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । उनले श्रमजीवी पत्रकारको तलव ५० प्रतिशतले वृद्धि हुनुपर्ने धारणा राखे ।

अध्यक्ष पोखरेलले तत्काल आमसञ्चार प्रतिष्ठान गठन गरी पत्रकारहरुको क्षमतावृद्धिमा ध्यान दिन आग्रह समेत गरे ।

प्रतिक्रिया