लाहुर जाने रेल छुटेपछि नेपालमै हाइहाई बने प्रकाश
‘टिकटकमा भाइरल, यूट्युबमा करोड भ्यू’

‘लाहुर जाने रेलैमा, जाम भो माइली सरर’, ‘घर कता हो बैनीको’, ‘बैनी झ्यालैमा’ जस्ता हिट् गीतका गायक प्रकाश दुतराज लाखौंको मनमा बसेका छन् । करोड भन्दा बढी भ्युज पाएका यी गीतहरुमाथि लाखौं टिकटक बनेका छन् ।
दर्शक, श्रोताहरुको मुखमुखमा झुन्डिएका, हृदयमा बसेका कर्णप्रिय गीतका गायकलाई अझ ऊर्जा र उत्साह मिलेको छ ।
यति मीठा गीत पस्किने गायक प्रकाशको जीवनमा मिठास भरिन भने बाँकी नै छ । गीत, संगीतमा पूर्ण समर्पित भएर आउनु अगाडि उनी विदेश जाने सुरमा थिए । त्यसका लागि पैसा पनि बुझाइसकेका थिए । तर, नियतिले भनौं कि भाग्यले ? उनी ठगिए । विदेश जाने सपना यसै यसै तुहियो ।
सात वर्ष दुवई जाने सपना सपनामै सीमित भएपछि गीत, संगीतमा फर्किनुको विकल्प थिएन ।
उनले जानेकै यही कर्म थियो । उनले दुई वर्ष मेहनतका साथ दोहोरी साँझमा काम गर्न थाले । हरेक दिन काम गर्दा आज त राम्रै गाइयो, भोलि कस्तो हुने होला भन्ने पीर पथ्र्यो । मनमा एकातिर उत्साह अर्कोतिर डर हुन्थ्यो ।
‘दोहोरी मेरा लागि पाठशाला नै भयो । सधैँ राम्रो गर्नुपर्छ भन्ने लाग्थ्यो ।’ अलि लजालु स्वभावका प्रकाशले भने– ‘नराम्रो गायो भने साहुले निकालिदिन्छन् । विचल्ली हुन्छ भन्ने लाग्थ्यो ।’
दोहोरीकै कमाईले प्रकाश काठमाडौँमा टिके । त्यहींबाट कमाएको पैसाले ‘आरने’ गीत बजारमा ल्याए । धेरै कुरा थाहै नपाई, नबुझेरै उनले यो गीत ल्याएका थिए ।
त्यसो त कक्षा १० मा पढ्दै गर्दा म्याग्दीबाट गीत रेकर्ड गराउन उनी राजधानी पसेका थिए । ‘सिमसिम पर्यो पानी’ नै उनको पहिलो रेकर्डेड गीत हो । गीत गाउने रहर त पूरा भयो । तर, चर्चित बन्न भने समय कुर्नुपर्यो ।
प्रकाशले ०७२ पछाडी सार्वजनिक गरिएको ‘आरने’ गीत ठीकै चल्यो । तर, गीत चर्चित बन्न भने चार वर्ष कुर्नु पर्यो ।
सन् २०१९ मा सार्वजनिक भएको बैनी झ्यालैमा गीत नसोंचेकै चल्यो । १ करोड १० लाख भन्दा बढी भ्युज पाएको यस गीतले नसोचेको सफलता पायो । यसले गर्दा उनलाई झन् हिम्मत आयो ।
यसपछि ३/४ वटा गीत उनले सार्वजनिक गरे । तर, ती गीत भने सोचे झैँ चलेनन् । उनमा संगीतको त्यति धेरै ज्ञान हासिल भइसकेको थिएन । तिरिरि, फूल, डाँडै काटेर जस्ता गीतहरु ओझेलमा परे । धेरै लगानी गरेर नचल्दा अलिकति निरास बनायो । तर, उनले हिम्मत हारेनन् ।
चिन्न सके असफलताभित्र पनि प्रिय चिज हँुदा रहेछन् । मनको कुनै कुनोमा आशा, विश्वास बाँकी नै थियो । पूरै माया मारिसकेका थिएनन् । आशै आशा र त्यही सपनाले उनले नयाँ गीत जन्मियो, ‘घर कता हो बैनीको’ ।
यो गीत निकालेर उनी आफ्नै जन्मथलो म्याग्दी फर्किए । दुई हप्तासम्म यो गीत खासै चलेन । त्यसपछि विस्तारै रफ्तार लियो । करोड क्लबमा छिरेको यो गीतले लोकप्रियताको शिखर चुमेपछि गायक प्रकाशलाई लाग्यो, अब स्वदेशमै बसेर काम गर्ने, विदेश जाने सोंच्दिन ।
नभन्दै ‘चोली मैलो भो’, ‘लाहुर जाने रेलैमा’ गीतले पनि करोड क्लबमा परेर पर्याप्त चर्चा बटुले । गीतहरुले चर्चाको शिखर चुमेपनि गायक प्रकाश दुतराजको नाम र अनुहार त्यति नै चर्चित हुन भने बाँकी नै छ ।
कारण उनी मिडियामा कमै जाने कलाकारमध्ये पर्छन् । देश तथा विदेशमा आयोजना भएका कार्यक्रममा निम्तो प्रशस्तै आयो । तर, बिचैमा कोरोना महामारीका कारण सहभागी हुने मौका पाएनन् । आयस्रोतको मुख्य माध्यम बनेका मेला, महोत्सव पनि ठप्प हुन पुगे ।

आफूलाई आम मानिसले अझैँ नचिनेकोमा प्रकाशलाई पछुतो छैन । कुनै दुखेसो पनि छैन । उनलाई लाग्छ, हरेक चिजको सिलसिला हुन्छ । विस्तारै चिन्ने दिन आउला भन्ने आशा लाग्छ ।
एउटा कुरामा उनी ढुक्क छन्, अब रोजगारीकै लागि भनेर विदेश गइदैन । स्वदेश तथा परदेशमा रहने लाखौं दर्शक, श्रोताहरुले गरेको माया, विश्वास, दर्शाएको सम्मानले उनलाई बेग्लै उर्जा मिलिरहेको छ । यो सबै कुरा माया मारेर विदेशिनु आफ्नै आत्मा, मन र दर्शकप्रति अपराध हुन्छ भन्ने आभाष हुन्छ, उनलाई ।
प्रकाशले जुन शैलीका गीतहरुमा स्वर भरेका छन्, यति लोकप्रियता पाउलान् भन्ने लागेको थिएन । तर, अत्यन्तै रुचाइए ।
उनले प्रयोग गर्ने शब्द, भाका मौलिक खालका छन् । गाउघरमा बोलिने भाषा, लवज, नेपाली माटो सुहाउँदो गीत उनले पस्किने गर्छन् ।
उनको गीत जुनसुकै मानिसको कानमा पर्दा आँखाभरी, मनभरी गाउँघर, बनपाखा, खोला, प्रकृति र परिवेश छाइदिन्छ । त्यसैले त एक पटक उनका गीत सुन्नेहरु पटक–पटक दोहोर्याएर सुन्न रुचाउँछन् ।
सुनिसकेकाहरु भुल्दैनन् । त्यही आत्मियताले होला, अरु कलाकार जस्तै उनका फ्यान यतिमै सिमित छैनन् । उनलाई कलाकार भन्दा बढी आफ्नो परिवारको सदस्य ठान्नेहरु बढी छन् ।
मेला, महोत्सवहरुमा प्रत्यक्ष भेट्दा दर्शकको माया त उनी शब्दमा बयान गर्न पनि सक्दैनन् । ‘हातमा हात समाएर आर्शिवाद दिन्छन् ।’ उनी भन्छन् ‘यो देख्दा गलत बाटोमा हिंड्दिन पाप लाग्छ जस्तो लाग्छ ।’
गीत, संगीत गायक प्रकाशको नशा नशामा बगेको छ । यो त आफूले भगवानबाट पाएको उपहार जस्तो लाग्छ उनलाई ।
प्राय: गीतका शब्द आफै कोर्छन् उनी । संगीत र लय पनि आफै भर्छन् । संगीतको कुनै औपचारिक कक्षा उनले लिएका छैनन् । म्याग्दी, मंगला आसपासका बनपाखा, गाउघरमा गीत गाउने गाउलेहरु नै उनका शिक्षक हुन् । जो बस्तुभाउ चराउन जाँदा, स्याउला टिप्न जादा जोड जोडले गीत गाउने गर्थे ।
बजारमा चलेका कलाकार भन्दा ती गाउलेहरुको स्वर मीठो सुनिन्थ्यो । भाका र लयले मन छुन्थ्यो । तिनका गीतहरु कहिल्यै रेकर्ड भएनन् । अहिले त कामको खोजीमा कति परदेश भासिसकेका छन् ।
स्मृतिमा धमिलो सम्झना छोडेर गएका, बनपाखामा गीत गाउने तिनै गाउलेहरुबाट प्रकाश प्रभावित बने । ‘जानी नजानी त्यही बेला सिकियो ।’ उनले पुराना दिनहरु सम्झिए ‘सुख, दु:खमा, पीरमा पनि गीत गाउने चलन थियो । ति कुराबाट धेरै सिकियो ।’
प्रकाशले गाउमै उनले गीत गाउने कोशिस गरे । स्कुल र कलेज पुग्दा विभिन्न कार्यक्रममा भाग लिए । बेनी बजारमा आयोजित हुने थुर्पै्र कार्यक्रममा पनि उनी सहभागी बने ।
‘भावी योजना के छ तपाईंको ?’ रसिक स्वभावका प्रकाशलाई सोधियो । ‘त्यस्तो व्यापक छैन सर ।’ उनले मनको कुरा सुनाए ‘यही गीत, संगीतमा लागेर सामान्य जीवन जिउँन पाउँ ।’
कुराकानीलाई बिट् मार्ने बेला उनले थपे, ‘नेपाली माटो सुहाउँदा सिर्जना निरन्तर गर्न पाइयोस् ।’

















झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँका सबै क्षेत्रमा रास्वपाकाे प्रारम्भिक अग्रता
भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया