आइतबार, माघ ४, २०८२

चार बुँदे सहमतिपछि सुर्खेत आन्दोलन स्थगित

मेरोन्यूज २०७८ फागुन २२ गते १८:१९

सुर्खेत । प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएका युवक प्रकरणमा चर्किएको आन्दोलन स्थगित भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा ४ बुदे सहमतिपछि पीडित पक्षले आन्दोलन स्थगित गरेका हुन् ।

शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमालको प्रहरी हिरासतमै मृत्यु भएको थियो ।

प्रहरीले कुटपिट गरेर हमालको मृत्यु भएको भन्दै बीरेन्द्रनगरमा आन्दोलन चर्किएको थियो ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भए नभएकोबारे बुझ्नका लागि छानबिन समिति बनाइएको छ । शनिबार बनाइएको छानबिन समितिमा आइतबार चिकित्सक सदस्यलाई पनि थप गरिएको छ ।

छानबिन समितिमा सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा सदस्य छन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. चन्द्रेश सिंहलाई समितिमा थप गरिएको छ ।

आइतबार भएको सहमतिअनुसार नै एक चिकित्सकलाई छानबिन समितिमा थप गरिएको हो । मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने पनि सहमति भएको छ ।

छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन म्यान्डेट दिइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
यसैबीच, हमालका बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया