चुनाव उपयोग गर्न विप्लव लचक, केन्द्रीय समिति बैठकबाट निर्णय लिइँदै
चुनाव उपयोग गर्ने स्वंयम विप्लवकै प्रस्ताव, हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलामात्र विपक्षमा

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव उपयोग गर्ने भएको छ । मोहन वैध (किरण)को पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले चुनाव वहिष्कार गर्ने निर्णय गरिरहँदा विप्लवको पार्टीले भने चुनाव उपयोगको निर्णय गर्न लागेको छ ।
भोलिदेखि कपिलवस्तुको शिवगढीमा शुरु हुन लागेको केन्द्रीय समिति बैठकले चुनाव उपयोग गरेर जाने र संयुक्त मोर्चाहरुको प्रयासमा लाग्ने निर्णय गर्न लागेको छ । केन्द्रीय समिति बैठकमा महासचिव विप्लव स्वंयमले निर्वाचन उपयोग गरेर जाने प्रस्ताव पेश गर्न लागेका हुन् ।
स्थानीय चुनाव सन्निकट रहेको र गत वर्ष फागुन २१ मा केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिक मुलधारमा आएको विप्लवको पार्टीले लिने बाटोका विषयमा अन्यौलता देखिएको थियो ।
एक वर्षदेखि आफैभित्र अवको बाटो के हुने भन्नेमा रुमल्लिरहेको उक्त पार्टीले अन्ततः अन्यौलता चिँदै चुनावकै बाटोमा पार्टीलाई हिडाउने निर्णय लिन लागेको हो ।
बैज्ञानिक समाजवाद या पँजीवाद (अहिलेको संसदीय ब्यवस्था)का विषयमा जनमत संग्रह गर्नुपर्ने कार्यनीति सहित शान्तिपूर्ण राजनीतिमा आएको विप्लवको पार्टीले त्यसका लागि उचित बाताबरण निर्माण गर्न सकेको थिएन । मुद्दा लागेका र जेलमा रहेका पार्टीका नेता कार्यकर्ता समेत यो एक वर्षका वीचमा छुटाउन असफल भएको र त्यसैका लागि सरकारसँग पटक पटक बार्ता र सम्वादमा बस्नु वाहेक उक्त पार्टीले राजनीतिमा कुनै पहलकदमी लिन नसकेको भनी पार्टीभित्रै आलोचना वढन थालेको थियो ।
पार्टीभित्र देखा परेको अन्यौलताका कारण कतिपय नेता कार्यकर्ता अन्य पार्टीतिर आकर्षित हुन थालेपछि भने उसले चुनावी बाटोअ वलम्बन गर्न लागेको हो ।
यसका लागि विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीको २६ फागुनमा सम्पन्न भएको सचिवालय वैठकले निर्णय लिईसकेको छ । यधपी, उक्त सचिवालय बैठकमा चुनाव उपयोग गर्ने विप्लवको प्रस्तावमा दुई नेताले भने मौखिक रुपमा फरक मत राखेका थिए ।
५ सदस्यीय सचिवालय बैठकमा महासचिव विप्लव, प्रवक्ता समेत रहेका नेता खडकबहादुर विश्वकर्मा प्रकाण्ड र सन्तोष वुढामगर (विषम) ले चुनाव उपयोगको नीति सही हुने भन्दै निर्वाचनमा जानुपर्ने मत राखेका थिए । तर, धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशन ले भने चुनाव उपयोग गर्ने नीति अहिले ठिक नहुने मत राखेका थिए । तर सचिवालयमा वहुमतले उपयोगको नीति पारित गरिसकेकोले भोलि देखि बस्ने केन्द्रीय समिति बैठकले त्यसैलाई अनुमोदन गर्ने निर्णय गर्नेछ ।
सचिवालय बैठकको निर्णय गोप्य राखेरै केन्द्रीय समिति बैठकमा पुगेका नेताहरुले केन्द्रीय समितिमै यस बारेमा वृहतम छलफल गरेर निर्णय लिने बताएका छन् । तर विप्लव र प्रकाण्ड एकातिर उभिएर चुनाव उपयोगको नीति अगाडी सार्ने भएपछि उक्त पार्टीको केन्द्रीय समितिले यही निर्णयलाई सके सर्वसम्मत नभएपनि अधिक वहुमतले पारित गर्नेछ ।
‘एकाध नेताले मात्रै अव उक्त प्रस्तावमा असहमति जनाएपनि चुनाव उपयोग गरेर जाने विषयमा भने कसैले रोक्न नसक्ने’ विप्लवको पार्टीका एक केन्द्रीय नेताले नाम नबताउने शर्तमा मेरोन्यूजलाई जानकारी दिए ।
केन्द्रीय समितिको बैठक आजैबाट बस्ने गरी बोलाइएको भएपनि केन्द्रीय नेताहरु कपिलवस्तुको शिवगढीमा समयमै नपुगीसकेका कारण भोलि विहान १० वजेबाट बैठक बस्न लागेको छ ।
अहिले नेताहरु शिवगढीमा जम्मा भईरहेका छन् ।
१० वर्षे जनयुद्ध गरेर शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिलाई वीचबाटोमै ‘गद्दारी’ गरेर छोडेको आरोप लगाउँदै ०६९ असारमा मोहन वैध (किरण) , नेत्रविक्रम चन्द लगायतका नेताहरुले अलग पार्टी गठन गरेका थिए । उक्त पार्टीले ०७० सालमा सम्पन्न भएको संविधानसभाको दोस्रो चुनाव वहिष्कारको नीति लिएको थियो ।
त्यसपछि मोहन वैधले पनि क्रान्ति अगाडी वढाउन नसक्ने भन्दै विप्लव, प्रकाण्ड लगायतका नेताहरुले २०७१ मंसिर ८ मा विप्लवको नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए ।
त्यसयता विप्लवको पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गदै आईरहेको छ । संविधानसभाको दोस्रो चुनाव वहिष्कार गरेको विप्लवको पार्टीले त्यसपछि बनेको संविधान, संविधान निर्माणपछिको २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनाव , त्यसपछिको संघ र प्रदेशको चुनाव पनि वहिष्कार गरेको थियो ।
विप्लवको पार्टीलाई केपी ओली नेतृत्वको सरकारले दुई वर्ष प्रतिवन्ध लगाएको थियो । विप्लवको पार्टीका १२ जना नेता –कार्यकर्ता यो वीचमा मारिएका थिए ।
२०७७ फागुन २१ मा सरकारसँग तीन बुँदे सहमति गरेर विप्लवको पार्टी शान्तिपूर्ण राजनीतिक मुलधारमा आएको थियो । अहिले चुनाव सम्मुखमा रहेका बेला उक्त पार्टीले चुनाव उपयोग गर्ने नीति लिन लागेको हो ।
विप्लव-प्रकाण्डको एउटै धार
प्रतिवन्धित अवस्थामा विप्लव र प्रकाण्डका वीचमा पार्टीभित्र यदाकदा अन्तरसंर्घष देखिएपनि गत वर्ष सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएदेखि भने पार्टीले लिने कार्यनीतिका विषयमा मत मिल्दै आएको छ ।
चुनाव उपयोग गर्ने नीतिमा पनि यी दुई नेता एकै ठाँउमा उभिएका छन् । उनीहरुलाई ५ सदस्यीय सचिवालयमा सन्तोष वुढामगरले पनि दह्रो साथ दिएका छन् । पार्टीभित्र तेस्रो र चौथो पोजिसनमा रहेका हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाको भने फरक मत अहिले देखा परेको छ । यधपी, पार्टी संगठनभित्र होल्ड राख्न नसक्ने भएका कारण विप्लव र प्रकण्ड एकै धारमा उभिएपछि यी दुई नेताको पार्टीभित्र जोर चल्ने अवस्था छैन ।
चुनाव उपयोगको नीति स्वंयम विप्लवले नै सचिवालयमा अगाडी सारेको र सचिवालयको निर्णयका रुपमा भोलि देखि शुरु हुने केन्द्रीय समिति बैठकमा पनि पेश गर्ने तयारी भएकोले वली र वास्तोलाको पक्षमा पार्टी केन्द्रीय समिति बैठकमा झिनो मत मात्र देखिने छ ।
मोर्चावन्दी कता ?
चुनाव उपयोग गर्ने नीतिसहित केन्द्रीय समिति बैठकबाट विप्लवको पार्टी शिवगढी बैठकबाट आउने तयारी गरेपछि उक्त पार्टीले चुनावमा को सँग मोर्चावन्दी गर्छ ? भन्नेमा भने यो पार्टीभित्र मत फरक छ ।
प्रकण्ड एमालेसँग चुनावी गठबन्धन गरेर जानुपर्ने पक्षमा लचक छन् । विप्लवले यस बारेमा मुख खोलिसकेका छैनन । यद्यपी, उनको माओवादी केन्द्रका नेता कृष्णवहादुर महरासँगको सम्वन्ध र हिमचिम वाक्लो रहेको र महराले माओवादी शक्तिहरुको एकताको प्रयास गरिरहेकाले विप्लवको अलिक झुकाव भने प्रचण्डतिरै देखिएको छ । तर उनले पहिले चुनाव उपयोग गर्ने नीति केन्द्रीय समिति बैठकबाट पारित गरेपछि मात्र थप छलफल गरी निर्णयमा पुग्नुपर्ने बताईरहेका छन् ।
चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने गरी जाने भन्दा पनि आफना केही नेता कार्यकर्तालाई जनप्रतिनिधीका रुपमा जिताउने गरी नै अन्य पार्टीसँग गठबन्धन गरेरै चुनावमा जाने तयारीमा विप्लवको पार्टी देखिएको छ ।
पार्टी दर्ताका लागि समय माग गर्ने
चुनाव उपयोगको नीति लिन लागेको विषयमा विप्लव र प्रकाण्डले प्रधानमन्त्री शेरवहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण लगायतसँग अनौपचारिक रुपमा जानकारी गराईसकेका छन् । फागुन २६ को सचिवालय बैठकमा बास्तोला र वलीको सहमति नभएपनि वहुमतका आधारमा चुनाव उपयोगको नीति पारित गरेपछि भोलिपल्टै फागुन २७ गते प्रधानमन्त्री देउवासँग विप्लव र प्रकाण्डले भेटवार्ता गरेका थिए ।
तीन वुँदे सहमति कार्यान्वयन सँगै आफुहरु चुनावमा आउँदा दल दर्ताका लागि निर्वाचन आयोगले समय दिन्छ/ दिदैन ? के हुन्छ भनी जिज्ञासा राखेका थिए । चुनावमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता अहिले बन्द गरिसकेको छ । तर विप्लवको पार्टी चुनावमा आए त्यसमा आयोगसँग आग्रह गर्ने आश्वासन प्रधानमन्त्री देउवाले पनि विप्लवहरुलाई दिएका छन् ।
केन्द्रीय समिति बैठकबाट चुनाव उपयोगको नीति पारित गरेर आएपछि प्रधानमन्त्रीसँग र आयोगसँग औपचारिक आग्रह गर्ने तयारीमा विप्लवहरु छन् । त्यसो हुँदा आगोगसँग आग्रह गरेर दुई तिन दिन दल दर्ताका लागि समय दिने गरी ब्यवस्थापन मिलाउने विाष्यमा पनि भित्री तयारी भईरहेको बताईएको छ ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया